आत्मदाह प्रकरणमा यातायातकर्मी आन्दोलित : ‘नियन्त्रणमै रहेका बेला आत्मदाह हुनु गम्भीर लापरबाही’

काठमाडौं । त्रिपुरेश्वरमा यात्रुवाहक बस चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनालाई लिएर यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले छानबिन र क्षतिपूर्तिसहित ९ बुँदे माग अघि सारेका छन् । मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा मृतक चालकका परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका हुन् ।
संघसंस्थाहरूका अनुसार असोज ५ गते मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बा. ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुगेका बेला आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण बाटो अवरुद्ध भएको थियो । त्यस क्रममा चालक दोङले हर्न बजाएपछि ट्राफिक प्रहरीले बस रोकेर कागजात माग्दै कारबाही गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ ।
चालकले आफूबाट गल्ती नभएको बताएपछि विवाद भएको र ट्राफिक प्रहरीले यात्रुहरूलाई ओरालेर बसलाई करिब दुई घण्टासम्म नियन्त्रणमा राखेको संघसंस्थाहरूको दाबी छ । त्यसपछि बसलाई बग्गीखानातर्फ लैजान खोज्दा चालकले प्रतिवाद गरेको र ट्राफिक प्रहरीबाट भएको मानसिक दबाब तथा हैरानी सहन नसकी उनले आफ्नै शरीरमा आगो लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको अवस्थामा चालकले आत्मदाह प्रयास गरी ज्यान गुमाउनु राज्यको गम्भीर लापरबाही भएको यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले बताएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन् ।
संघसंस्थाहरूले मृतक चालकको परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुका साथै घटनामा पूर्ण रूपमा जलेको बसका धनीलाई समेत उचित क्षतिपूर्ति दिन माग गरेका छन् । साथै सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
यातायात श्रमिकलाई श्रम ऐनअनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउने व्यवस्था गर्न, उनीहरूलाई सामाजिक सुरक्षामा आबद्ध गराउन तथा ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, हैरानी र झमेलाविरुद्ध उजुरी गर्न २४ घण्टे हेल्पलाइन र द्रुत सुनुवाइ संयन्त्र स्थापना गर्न पनि माग गरिएको छ ।
त्यसैगरी सडकमा ट्राफिक प्रहरीको व्यवहार तथा कार्यशैलीमाथि छानबिन गर्न, ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउन तथा सरोकारवालाको सहभागितामा अनुगमन संयन्त्र निर्माण गर्न उनीहरूले आग्रह गरेका छन् । ट्राफिक प्रहरीलाई दिइएको तजबिजी अधिकारको दुरुपयोग रोक्न अधिकार प्रत्यायोजनको व्यवस्था पुनर्व्यवस्थित गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ ।
मागहरू तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी संघसंस्थाहरूले दिएका छन् । त्यसका लागि ६ वटा महासंघ तथा संघका अध्यक्षहरू सम्मिलित संयुक्त संघर्ष समिति गठन गरिएको जनाइएको छ ।
संयुक्त विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, नेपाल ट्रक यातायात महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमले हस्ताक्षर गरेका छन् ।











