‘यो भाडाले गुजारा चल्दैन’ भन्दै इन्ड्राइभ कार्यालयअघि आज पनि राइडरहरुको प्रदर्शन

२१ श्रावण २०८३, बिहीबार १२:२८

काठमाडौँ । राइड–सेयरिङ सेवा इन्ड्राइभका राइडरहरूले उचित पारिश्रमिक, वैज्ञानिक भाडादर र श्रमिक अधिकारको सुनिश्चितताको माग गर्दै सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन्। बुधबार ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभको कार्यालय घेराउ गरेका राइडरहरू बिहीबार पनि सोही स्थानमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन्।

आन्दोलनमा सहभागी राइडरहरूले कम्पनीले चालकहरूको श्रमको उचित मूल्यांकन नगरेको, न्यून भाडादरमार्फत श्रम शोषण गरेको र सञ्चालन खर्चको तुलनामा आम्दानी अत्यन्तै कम भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार इन्धन, सवारीसाधनको मर्मत, बीमा, स्पेयर पार्ट्स तथा दैनिक सञ्चालनसँग जोडिएका अन्य खर्च लगातार बढ्दै गइरहेका छन्। तर, इन्ड्राइभमार्फत प्राप्त हुने आम्दानी भने त्यसअनुसार नबढेकाले पेशा नै टिकाउन कठिन बन्दै गएको उनीहरूको भनाइ छ।

राइडरहरूले यात्रु र चालकबीचको प्रतिस्पर्धालाई आधार बनाएर कम्पनीले भाडादर निर्धारण गर्ने वर्तमान प्रणालीले चालकहरूलाई घाटामा काम गर्न बाध्य बनाएको आरोपसमेत लगाएका छन्। उनीहरूका अनुसार प्रतिस्पर्धाको नाममा भाडा अस्वाभाविक रूपमा घट्ने अवस्था सिर्जना हुँदा चालकको श्रमको उचित मूल्य प्राप्त हुन सकेको छैन।

प्रदर्शनकारीहरूले वैज्ञानिक आधारमा भाडादर निर्धारण गर्न, चालक–राइडरमैत्री नीति लागू गर्न, श्रमिकको अधिकार सुनिश्चित गर्न तथा कम्पनीले आफ्ना चालकहरूप्रति जिम्मेवार व्यवहार गर्नुपर्ने माग अघि सारेका छन्। माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।

आन्दोलनको पहिलो चरणअन्तर्गत राइडरहरूले एक सातासम्म इन्ड्राइभ एप अनइन्स्टल गर्ने निर्णय गरेका छन्। यसबाट कम्पनीलाई दबाब सिर्जना गर्दै आफ्ना मागप्रति गम्भीर बन्न बाध्य पार्ने उनीहरूको रणनीति रहेको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*