रौतहटमा पेट्रोल ट्याङ्कर आगलागी घट्ना शंकास्पद, प्रहरीले विस्तृत अनुसन्धान गर्दै

२१ श्रावण २०८३, बिहीबार १३:२०

काठमाडौं । रौतहटको गजुरा नगरपालिका–३ धनसार पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्यांकर पल्टिएर आगलागी भएको घटना शंकास्पद देखिएको छ ।

बिहीबार बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर सडकमा अचानक आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेतर्फ पल्टिएपछि आगलागी भएको भनिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण केही समय अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अहिले सञ्चालनमा आइसकेको छ ।

तर ट्यांकरमा रहेको भनिएको पेट्रोलको परिमाण र ट्यांकरको यात्राको समयलाई लिएर घटनाको प्रकृतिमाथि प्रश्न उठ्न थालेका छन् । उक्त ट्यांकरमा झण्डै १३ हजार लिटर पेट्रोल रहेको बताइएको छ । उक्त परिमाणको पेट्रोलको मूल्य करिब २४ लाख रुपैयाँ पर्ने देखिन्छ । कतै कम परिमाणमा पेट्रोल राखेर जानाजान घटना गराइएको त होइन भन्ने प्रश्नसमेत उठेको छ ।

त्यस्तै पेट्रोलजन्य पदार्थमा आगलागी हुँदा नियन्त्रणका लागि सामान्य पानीभन्दा फोम प्रयोग गर्ने अभ्यास रहेको अवस्थामा घटनास्थलमा दमकल प्रयोग गरिएको विषयमा पनि प्रश्न उठेको छ । अर्कोतर्फ ट्यांकर राति नै अमलेखगञ्जमा पेट्रोल लोड गरेर सर्लाहीका लागि हिँडेको बताइएको छ । अमलेखगञ्जबाट घटनास्थलसम्मको दूरी र सामान्य यात्राको समयलाई हेर्दा ट्यांकर बिहान करिब साढे ५ बजे धनसार पुल नजिकै दुर्घटनामा पर्नुको समयक्रमबारे पनि प्रश्न उठेको छ ।

अहिलो यो घटना सामान्य सडक दुर्घटना र त्यसपछिको आगलागी मात्रै हो वा यसमा अन्य कुनै कारण जोडिएको छ भन्ने प्रश्न उठेको छ । विशेषगरी करिब २४ लाख रुपैयाँ बराबरको पेट्रोल तथा ट्यांकरमा हुन सक्ने बीमा रकमसँग सम्बन्धित पक्षलाई लिएर उक्त घटनामाथि प्रश्न उठेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले घट्ना शंकास्पद भएकाले चालक बाराका २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*