बुद्ध एयरले नयाँ भन्दै भित्र्याएको एटीआर–७२–६०० विमान १४ वर्ष पुरानो

काठमाडौँ । नेपालकै अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले हालै नेपाल भित्र्याएको एटीआर–७२–६०० विमान १४ वर्ष पुरानो रहेको तथ्य सार्वजनिक भएको छ । कम्पनीले अत्याधुनिक र नयाँ प्रविधियुक्त भन्दै प्रचार गरिरहेको उक्त विमान १४ वर्षअघि नै उत्पादन भई विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमा नियमित उडान गरिसकेको पाइएको हो।
बुद्ध एयरले साउन ९ गते ‘९एन–एओएस’ दर्ता नम्बर प्राप्त एटीआर–७२–६०० विमान नेपाल ल्याएको थियो। कम्पनीले आगामी महिनादेखि यसलाई व्यावसायिक उडानमा उतार्ने तयारी गरिरहेको छ। सार्वजनिक रूपमा विमानलाई अत्याधुनिक प्रविधिसहितको जहाजका रूपमा प्रस्तुत गरिएको भए पनि यसको निर्माण, सञ्चालन र स्वामित्व परिवर्तनको विवरणले यो लामो समयदेखि अन्तर्राष्ट्रिय आकाशमा प्रयोग भइसकेको विमान रहेको देखाउँछ।
उक्त विमानमा पूर्ण डिजिटल ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रविधि जडान गरिएको छ। यी विशेषताले विमानलाई प्राविधिक रूपमा सक्षम बनाउने भए पनि यसको उत्पादन मिति भने सन् २०१२ को मार्चसँग जोडिएको छ। अर्थात् अहिले यो विमान करिब १४ वर्ष चार महिना पुरानो भइसकेको छ।
फ्रान्सको टुलुजस्थित एटीआर उत्पादन केन्द्रमा निर्मित यो जहाज पहिलोपटक ब्राजिलमा दर्ता भएको थियो। त्यहाँ ‘पिआर–टीकेएल’ कलसाइनमा टीआरआईपी लिन्हास एरियासले व्यावसायिक उडान सञ्चालन गरेको थियो। त्यसपछि ब्राजिलकै एजुल एयरलाइन्सको फ्लीटमा समावेश भई लामो समयसम्म यात्रु सेवा दिएको अभिलेखमा उल्लेख छ।
पछि विमानको स्वामित्व फेरिँदै डीएई क्यापिटल अन्तर्गत सञ्चालनमा पुगेको थियो। त्यतिबेला यसको दर्ता संकेत परिवर्तन भएर ‘२–आरटीकेएल’ बनेको थियो। सन् २०२६ को मेसम्म विभिन्न अन्तर्राष्ट्रिय सञ्चालनमा रहेपछि अन्ततः जुलाई महिनामा यो विमान बुद्ध एयरले नेपाल ल्याएको हो।
यसरी एउटै विमानले तीन फरक कम्पनीमार्फत व्यावसायिक सेवा दिइसकेपछि मात्रै नेपाली आकाशमा प्रवेश गरेको विवरण सार्वजनिक भएको छ ।











