देशभर बैंकिङ कसुरका १२ हजारभन्दा बढी मुद्दा, अपराधको केन्द्र बन्यो काठमाडौँ

काठमाडौँ । नेपालमा पछिल्ला वर्षहरूमा बैंकिङ प्रणालीसँग जोडिएका कसुरका घटना उल्लेखनीय रूपमा बढ्दै गएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले बैंकिङ कसुर देशभर सबैभन्दा धेरै दर्ता हुने अपराध बनेको देखाएको छ।
प्रहरीका अनुसार देशभर बैंकिङ कसुरका कुल १२ हजार ९ सय ५० वटा मुद्दा दर्ता भएका छन्। चेक दुरुपयोग, बैंकिङ कारोबारमा हुने ठगी तथा अन्य आर्थिक अनियमिततासँग सम्बन्धित घटनाले यो संख्या उच्च बनेको प्रहरीको भनाइ छ।
तथ्याङ्कले काठमाडौँ उपत्यका बैंकिङ कसुरको प्रमुख केन्द्रका रूपमा देखिएको छ। देशभर दर्ता भएका कुल मुद्दामध्ये ६ हजार २२ वटा, अर्थात् करिब ४६.५० प्रतिशत, उपत्यकामा मात्रै दर्ता भएका छन्। आर्थिक कारोबारको चाप, वित्तीय संस्थाको उच्च सघनता तथा बैंकिङ सेवाको व्यापक पहुँचका कारण यस क्षेत्रमा यस्ता मुद्दाको संख्या बढी रहेको प्रहरीको विश्लेषण छ।
प्रदेशगत विवरणअनुसार उपत्यकापछि मधेश प्रदेशमा सबैभन्दा धेरै १ हजार ७ सय ५७ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। त्यसपछि लुम्बिनी प्रदेशमा १ हजार २ सय १८, कोशी प्रदेशमा १ हजार १ सय ५७, बागमती प्रदेश (उपत्यका बाहेक) मा १ हजार २१, गण्डकी प्रदेशमा ९ सय ९४, सुदूरपश्चिम प्रदेशमा ४ सय २६ तथा कर्णाली प्रदेशमा सबैभन्दा कम ३ सय ५५ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।











