देउवाविरुद्ध मुद्दाबारे रेकर्ड हेरिरहेका छौँ : प्रहरी

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी जारी भएको छ वा छैन भन्ने विषयमा नेपाल प्रहरीले रेकर्ड अध्ययन गरिरहेको जनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवासम्बन्धी अभिलेख परीक्षण भइरहेको जानकारी दिए।
सञ्चारकर्मीले देउवा स्वदेश फर्किएपछि पक्राउ वा अनुसन्धानको दायरामा ल्याउने कुनै कानुनी आधार रहेको छ कि छैन भन्ने प्रश्नमा काफ्लेले भने, “हामीले यसबारे रेकर्डहरू हेरिरहेका छौँ। के छ, हेरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ।”
यसअघि बिहीबार नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देउवा साउन २६ गते नेपाल फर्किने जानकारी दिएका थिए। देउवा लामो समयदेखि विदेशमा रहेका छन्।











