‘नो लाइन, अनलाइन’ भनेर आफ्नैले गरेको भाषण सम्झिँदा मलाई लाज लाग्छः रमेश प्रसाईं

२२ श्रावण २०८३, शुक्रबार १६:०६

काठमाडौं । सत्तापक्षकै सांसदले खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले प्रतिनिधिसभा बैठकमा बोल्दै ग्यास अभावका कारण जनता रातदिन लाइन बस्न बाध्य भएको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

सम्बोधनको सुरुवातमै प्रसाईंले, “सभामुखज्यू, म कहिलेकाहीँ कन्फ्युज्ड हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन,” भने।

उनले चुनावी अभियानका क्रममा आफूले गरेको प्रतिबद्धता सम्झिँदै भने, “त्यसबेला हामीले ‘सरकारी कार्यालयहरूमा त्यत्रो लाइन, रास्वपाको पालामा ओन्ली अनलाइन’ भनेर भाषण गरेका थियौँ। तर आज भात पकाउने ग्यासका लागि जनता दिनभरि, रातभरि र मध्यरातसम्म लाइन बसेका दृश्यले मलाई त साँच्चिकै लाज लागेको छ।”

प्रसाईंले सरकारसमक्ष दुई प्रश्न पनि राखे। उनले, “पहिलो प्रश्न, प्रधानमन्त्री र मन्त्रीहरूका क्वार्टरमा अहिले ग्यासको अभाव छ कि छैन ?” भन्दै प्रश्न गरे।

त्यसपछि उनले अर्को प्रश्न गर्दै भने, “यदि सरकारले भनेजस्तै कृत्रिम अभाव सिर्जना भएको हो र ग्यास पर्याप्त आइरहेको भएर पनि कालोबजारी भइरहेको हो भने, कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन दुईतिहाइको सरकारलाई केले रोकेको छ ?”

प्रसाईंले जनताले नयाँ सरकार चाहेको कारण स्पष्ट पार्दै भने, “जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला र ह्याण्डसम अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*