जेनेभामा भेला भए युरोपका नेपाली स्वास्थ्यकर्मी, नेपालसँग सहकार्य बढाउने प्रतिबद्धता

२४ श्रावण २०८३, आईतवार ०८:०१

काठमाडौं । युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्विट्जरल्यान्डको जेनेभामा भेला भएर नेपाल–युरोप स्वास्थ्य सहकार्य, अनुसन्धान र अनुभव आदानप्रदानका विषयमा छलफल गरेका छन् ।

‘सोसाइटी अफ नेपलिज हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक सम्मेलनमा युरोपमा नेपाली स्वास्थ्यकर्मीले हासिल गरेको ज्ञान, सीप र विशेषज्ञतालाई नेपालको स्वास्थ्य प्रणालीसँग जोड्ने विषयमा छलफल भएको हो ।

साउन २२ देखि २४ गतेसम्म चलेको सम्मेलनमा स्वास्थ्य प्रविधि, क्लिनिकल अभ्यास, अनुसन्धान र समसामयिक चुनौतीबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए । नेपालसँग सम्बन्धित तीनवटा रिपोर्टसमेत प्रस्तुत गरिएको थियो ।

सम्मेलनको उद्घाटन स्विट्जरल्यान्डका लागि नेपाली राजदूत तथा जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले गरेका थिए । उनले नेपाल र युरोपबीचको स्वास्थ्य सहकार्यलाई थप विस्तार र संस्थागत गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा ‘नेपलिज हेल्थ प्रोफेसनल अफ द इयर २०२६’ सम्मान प्रा.डा. सुरजबहादुर थापालाई प्रदान गरिएको छ । नर्वेको ओस्लो युनिभर्सिटी हस्पिटलमा प्रोफेसर तथा मानसिक स्वास्थ्य अनुसन्धान प्रमुखका रूपमा कार्यरत थापाले सम्मानले आफ्नो काम र समर्पणको मूल्यांकन भएको बताए ।

त्यस्तै सोसाइटी र बेलायतस्थित ‘नेप्लिज डक्टर्स एसोसिएसन’बीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ र एसोसिएसनकी अध्यक्ष डा. आरती थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्मेलनमा चिकित्सा अनुसन्धानदेखि हिमाल आरोहणसम्मका अनुभव प्रस्तुत गरिएको थियो । सात महादेशका सात सर्वोच्च शिखर आरोहण गरेकी सुस्मिता मास्के निरौलाले आरोहणका क्रममा भोगेका अनुभव र चुनौतीबारे प्रस्तुति दिएकी थिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*