पाँचथर पावर कम्पनीको बलियो पुनरागमन, नोक्सानी चिर्दै साढे ८ करोड नाफामा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले पछिल्लो एक वर्षमा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गर्दै बलियो पुनरागमन गरेको छ । अघिल्लो वर्ष प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक क्षति व्यहोरेको यस कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा आफूलाई पुनः नाफाको बाटोमा फर्काउन सफल भएको हो ।
कम्पनीले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा कम्पनीले ८ करोड ५१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ६ करोड १७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानीमा खुम्चिएको थियो । कम्पनीले एक वर्षमै नोक्सानीलाई नाफामा बदल्न सफल भएको छ ।
विद्युत बिक्रीमा उल्लेख्य वृद्धि आएका कारण कम्पनी नाफा आर्जन गर्न सक्षम बनेको हो । अघिल्लो वर्षको असार मसान्तसम्म जम्मा ८ करोड ९० लाख ७२ हजार रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी यस वर्ष चामत्कारिक रूपले बढेर ३७ करोड ७८ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
२०८० साल असारमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि लामो समय उत्पादन बन्द भएको थियो । आयोजनाको मर्मत सम्भार सकेर २०८१ चैत १६ गतेदेखि पुनः पूर्ण रूपमा उत्पादन सुरु भएपछि कम्पनीको आम्दानीको स्रोत फेरि बलियो बनेको हो ।
यता कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि उत्साहजनक सुधार देखिएको छ । अघिल्लो वर्ष ऋणात्मक रहेको प्रतिशेयर आम्दानी यस वर्ष ८.८५ रुपैयाँ कायम भएको छ । त्यसैगरी प्रतिशेयर नेटवर्थ ९८.६५ रुपैयाँ रहेको छ । ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको जगेडा कोषमा रहेको घाटा पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो वर्ष ९ करोड ८१ लाख रुपैयाँले ऋणात्मक रहेको जगेडा कोष अहिले सुधारिएर १ करोड २९ लाख रुपैयाँ ऋणात्मकमा झरेको छ ।











