वानएक्स बेटमार्फत करोडौंको कारोबार, तीन जना पक्राउ

२४ श्रावण २०८३, आईतवार १०:२९

काठमाडौं । अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका ३० वर्षीय नबिन पौडेल, १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार उनीहरूलाई २१ गते राति करिब ९ बजे बानेश्वरस्थित सडकखण्डमा शंकास्पद अवस्थामा फेला पारी प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले वानएक्स बेटमार्फत सट्टेबाजी गर्ने–गराउने तथा ठूलो परिमाणमा अमेरिकी डलरसहित अभौतिक मुद्राको कारोबार गर्ने गरेको खुलेको छ।

उनीहरूको कारोबार विवरणमा ७९ हजार ६८ दशमलव ६५ अमेरिकी डलर बराबरको कारोबार देखिएको प्रहरीले जनाएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ बराबर हुन्छ।

त्यस्तै, उनीहरूको साथबाट १ हजार ५०१ दशमलव ३२ अमेरिकी डलर बराबरको अभौतिक मुद्रा मौज्दात फेला परेको प्रहरीले जनाएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब २ लाख २८ हजार ८३६ रुपैयाँ बराबर हुन्छ।

प्रहरीका अनुसार उनीहरूले वानएक्स बेटमार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको सट्टेबाजी कारोबारसमेत गरेको देखिएको छ। उनीहरूको साथबाट पाँच थान मोबाइल बरामद गरिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*