कर तिर्ने उद्यमीलाई सम्मान गर्ने वातावरण बनाउनुपर्छ : रवि लामिछाने

२४ श्रावण २०८३, आईतवार ११:३९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैँ सम्मान गर्नुपर्ने बताएका छन्।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी तथा व्यवसायीले करमार्फत राज्यलाई महत्वपूर्ण योगदान गरिरहेको भन्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताएका हुन्।

सरकारले चार महिनामा पनि अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले विस्तारै काम गरिरहेको दाबी गरे। सरकार अझ राम्रो परिणाम ल्याउने गरी अघि बढिरहेको भन्दै उनले त्यसको परिणाम आगामी दिनमा देखिने बताए।

सरकारले गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति रास्वपासँग रहेको बताए। सरकारले गलत बाटो लिए आफूहरूले त्यसलाई सच्याउन सक्ने क्षमता राख्ने उनको भनाइ थियो।

सरकार युवा लक्षित रहेको दाबी गर्दै लामिछानेले युवाहरूलाई देशमै केही गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरे। विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दै स्वदेशमै उद्यम, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनले बताए।

युवाहरूले देशमै सम्भावना खोजेर अघि बढे राज्यले आवश्यक सहयोग गर्ने उल्लेख गर्दै लामिछानेले उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*