दुई ‘अटो शो’ ले तताउँदै बजारः ईभीदेखि हाइब्रिडसम्म नयाँ गाडीको लहर

काठमाडौँ । यस वर्षको अटोमोबाइल बजार दुई ठूला प्रदर्शनीका कारण निकै चलायमान हुने देखिएको छ। यस साताबाट सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो र त्यसपछि भदौमा आयोजना हुने नाडा अटो शोले नेपाली बजारमा नयाँ सवारीसाधनको प्रवेशलाई तीव्र बनाएको हो ।
यसपटकको विशेषता केवल नयाँ मोडलको संख्या बढ्नु मात्र नभई नेपाली बजारमा आउने सवारीको प्रविधि र वर्गमा आएको परिवर्तन पनि हो। विद्युतीय गाडीको दबदबा कायम रहँदा प्लग–इन हाइब्रिड, सामान्य हाइब्रिड, पेट्रोल एसयूभी, कम्प्याक्ट ह्याचब्याक, प्रिमियम कार र लाइट कमर्शियल भेहिकलसम्मका विकल्प एकै समय बजारमा देखिन लागेका छन्।
साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोले यस प्रतिस्पर्धाको पहिलो झलक दिनेछ। त्यसको केही समयपछि भदौ ९ देखि १४ गतेसम्म त्यही स्थानमा नाडा अटो शो आयोजना हुनेछ। दुई प्रदर्शनीबीचको समय निकै छोटो भएकाले एउटा कार्यक्रममा नदेखिएको नयाँ उत्पादन अर्को कार्यक्रममा ल्याउने सम्भावना पनि छ। यसले आयातकर्ता र वितरक कम्पनीलाई आफ्ना नयाँ उत्पादनको मूल्य, डिजाइन, प्रविधि र उपयोगिताका आधारमा ग्राहक आकर्षित गर्न थप दबाब सिर्जना गरेको छ।
अटो बजारमा नयाँ उत्पादन ल्याउने समयका हिसाबले पनि यो अवधि महत्वपूर्ण मानिन्छ। अटो शोपछि नेपालीहरूको प्रमुख चाडपर्व सुरु हुने भएकाले सवारीसाधन खरिदको निर्णय गर्ने ग्राहकको संख्या बढ्ने गर्छ। त्यसैले कम्पनीहरू प्रदर्शनीलाई केवल उत्पादन प्रदर्शन गर्ने ठाउँका रूपमा नभई बिक्री अभियान सुरु गर्ने अवसरका रूपमा प्रयोग गर्न खोजिरहेका छन्। नयाँ मोडलप्रति ग्राहकको प्रारम्भिक प्रतिक्रिया बुझ्ने, बुकिङ लिने र चाडपर्वको बजारका लागि माग सिर्जना गर्ने रणनीति पनि यसैसँग जोडिएको छ।
नाइमा मोबिलिटी एक्स्पोमा करिब ५५ ब्रान्डको सहभागिता रहने तयारी छ। चारपांग्रे र दुईपांग्रे दुवै क्षेत्रलाई समेटिएको प्रदर्शनीमा ठूलो संख्यामा नयाँ उत्पादन देखाइने आयोजक पक्षको भनाइ छ। करिब ४० नयाँ मोडल सार्वजनिक वा प्रदर्शनमा आउने तयारीले पनि यसपटकको प्रदर्शनीको आकार र विविधता बुझ्न सकिन्छ। टाटा, हुन्डाई, एमजी, सिट्रोन, प्रोटोन, विलिङ, फोरथिङ, म्याक्सस, प्युजो र केईलगायतका ब्रान्डसँगै सुजुकी, महिन्द्रा, ग्रेटवाल मोटर्स, बीएआईसी, जेटोर, किया, एमजी आएम, लिपमोटर, ओमोडा–जेको, आईकार, टोयोटा र बीवाईडीजस्ता नाम पनि प्रदर्शनीमा देखिनेछन्।
नेपाली बजारमा चिनियाँ कम्पनीहरूको उपस्थिति पहिलेभन्दा धेरै फराकिलो भएको छ। केही वर्षअघिसम्म भारतीय र जापानी ब्रान्डको बलियो प्रभाव रहेको बजारमा अहिले चिनियाँ कम्पनीले विद्युतीय गाडी मात्र होइन, हाइब्रिड, प्लग–इन हाइब्रिड, पेट्रोल एसयूभी र प्रिमियम सेग्मेन्टमा समेत आक्रामक प्रवेश गरिरहेका छन्। मूल्यसँगै डिजाइन, मोटर क्षमता, ब्याट्री, ड्राइभिङ रेन्ज र स्मार्ट फिचरलाई प्रतिस्पर्धाको आधार बनाउने प्रवृत्ति बढेको छ।
बीएआईसीको बीजे३० यसको एउटा उदाहरण बन्न सक्छ। हाइब्रिड प्रविधिमा आधारित यो एसयूभीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग दुईवटा विद्युतीय मोटरको संयोजन गरिएको छ। यसको संयुक्त शक्ति ४०९ हर्सपावरसम्म पुग्ने र टर्क ६८५ न्युटन मिटर रहने दाबी गरिएको छ। नेपालमा विद्युतीय गाडीप्रति आकर्षण भए पनि लामो दूरी, चार्जिङ पूर्वाधार र यात्रा अवस्थालाई लिएर केही ग्राहकमा रहेको अन्योललाई हाइब्रिड तथा प्लग–इन हाइब्रिडले सम्बोधन गर्न सक्ने अपेक्षा गरिएको छ।
यही कारण जेटोरका प्लग–इन हाइब्रिड एसयूभी पनि नेपाली बजारका लागि चासोको विषय बनेका छन्। पूर्ण विद्युतीय गाडीमा तत्काल जान नचाहने ग्राहकलाई लक्षित गर्दै पेट्रोल इन्जिन र विद्युतीय प्रणालीको संयुक्त प्रयोग हुने मोडलहरू बजारमा ल्याउने रणनीति आयातकर्ताले अपनाएका छन्। जेटोर टी१ र टी२ जस्ता मोडलले यही नयाँ ग्राहक समूह समात्ने प्रयास गर्नेछन्।
विद्युतीय सेग्मेन्टमा भने प्रतिस्पर्धा अझ फराकिलो हुँदै गएको छ। आर्कफक्स टी१ जस्तो कम्प्याक्ट ह्याचब्याकदेखि महिन्द्राको एक्सईभी ९ई, टाटा पञ्च ईभीको अद्यावधिक संस्करण, बीवाईडीको नयाँ उत्पादन, लिपमोटर बी०३ र विलिङका विभिन्न मोडलसम्मका गाडीले ग्राहकलाई फरक–फरक विकल्प दिनेछन्। आर्कफक्स टी१ मा ४२.४ किलोवाट आवरको ब्याट्री र ७० किलोवाटको मोटर प्रयोग गरिएको छ। सहर केन्द्रित ग्राहकका लागि सानो आकारको तर आधुनिक विद्युतीय कारको माग बढ्दै गएकाले यसको उपस्थिति अर्थपूर्ण हुन सक्छ।
टाटा पञ्च ईभीको नयाँ संस्करणले पनि प्रतिस्पर्धा थप रोचक बनाउनेछ। यसमा ३० र ४० किलोवाट आवरका ब्याट्री विकल्प उपलब्ध हुनेछन्। भारतीय ब्रान्डले विद्युतीय कारलाई तुलनात्मक रूपमा ठूलो एसयूभीमा मात्र सीमित नराखी सानो आकारको शहरी गाडीमा समेत विस्तार गरिरहेको छ। टाटा सियारा ईभीको प्रदर्शनले भने कम्पनीको आगामी विद्युतीय एसयूभी रणनीतितर्फ पनि ध्यान तान्नेछ।
महिन्द्राको एक्सईभी ९ई पनि प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि आकर्षणको केन्द्र बन्न सक्छ। यसअघि बीई ६ मार्फत विद्युतीय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाएको महिन्द्राले नयाँ मोडलमार्फत ठूलो आकार र उच्च क्षमताको एसयूभी खण्डमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। भारतीय बजारमा विभिन्न ब्याट्री क्षमताका विकल्पसहित उपलब्ध यो मोडल नेपाली बजारमा कस्तो मूल्य र स्पेसिफिकेसनमा आउँछ भन्ने विषय ग्राहकका लागि महत्वपूर्ण हुनेछ।
बीवाईडीले पनि नयाँ उत्पादनमार्फत आफ्नो पोर्टफोलियो विस्तार गर्ने तयारी गरेको छ। सिलाइन०८ को प्रवेशसँगै कम्पनीले प्रिमियम तथा ठूलो आकारको विद्युतीय सवारीमा आफ्नो दायरा बढाउनेछ। त्यससँगै डेन्जा ब्रान्डको आगमनले नेपालमा बीवाईडीको व्यापारिक रणनीति थप माथिल्लो मूल्य वर्गतर्फ पनि जाने संकेत गरेको छ। एटो ३ को फेसलिफ्ट संस्करण पनि आउन लागेको अवस्थामा कम्पनीले पुराना सफल मोडललाई अद्यावधिक गर्दै नयाँ ग्राहक खोज्ने रणनीति लिएको देखिन्छ।
ग्रेटवाल मोटर्सले पनि नेपाली बजारमा नयाँ विकल्प थप्दैछ। ओरा ५ विद्युतीय मोडलसँगै हाभलको विद्युतीय उत्पादन र जोलियन म्याक्सलाई बजारमा ल्याउने तयारीले कम्पनीलाई इलेक्ट्रिक र एसयूभी दुवै खण्डमा फैलाउनेछ। जोलियन म्याक्समा १५० किलोवाट मोटर र ५८.३ किलोवाट आवर ब्याट्री रहने अपेक्षा गरिएको छ। यसले मध्यम आकारको विद्युतीय एसयूभीमा प्रतिस्पर्धा थप तीव्र पार्नेछ।
प्रिमियम वर्गमा भने हङ्कीको प्रवेशलाई विशेष रूपमा हेरिएको छ। चिनियाँ बजारमा उच्चस्तरीय सवारी उत्पादनका लागि परिचित यो ब्रान्ड नेपालमा आउनुले प्रिमियम कारको प्रतिस्पर्धामा नयाँ खेलाडी थपिनेछ। चिनियाँ ब्रान्डप्रति नेपाली उपभोक्ताको धारणा विगत केही वर्षमा बदलिँदै गएकाले महँगा सवारीमा पनि उनीहरूको प्रवेश सम्भव भएको हो।
विलिङले पनि आफ्नो उपस्थिति विस्तार गर्दै स्टरलाइट ५६० ईभी, एक्सियन ईभी र सानो आकारको मिनी ईभीलाई अगाडि सारेको छ। एक्सियनमा ६९।२ किलोवाट आवरको एलएफपी ब्याट्री र १५० किलोवाट मोटर रहनेछ भने सात सिट क्षमताले परिवारमुखी ग्राहकलाई लक्षित गर्नेछ। अर्कोतर्फ मिनी ईभीले सहरी यात्राका लागि सानो र सहज विद्युतीय गाडी खोज्ने ग्राहकलाई समेट्न सक्छ।
लिपमोटर बी०३ पनि नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ। ३९.८ र ५३ किलोवाट आवरका दुई ब्याट्री विकल्पले ग्राहकलाई बजेट र प्रयोगअनुसार छनोटको अवसर दिनेछन्। विद्युतीय गाडीको बजार विस्तार भइरहँदा यस्ता नयाँ कम्पनीको प्रवेशले स्थापित ब्रान्डलाई पनि मूल्य र सुविधामा प्रतिस्पर्धी बन्न बाध्य पार्नेछ।
निसानले टेकटन एसयूभीमार्फत पेट्रोल सेग्मेन्टमा आफ्नो नयाँ प्रस्तुति दिनेछ। १.० लिटर टर्बो पेट्रोल इन्जिनसँग म्यानुअल गियरबक्स तथा १.३ लिटर टर्बो जीडीआई इन्जिनसँग डुअल क्लच ट्रान्समिसनको विकल्पले परम्परागत इन्जिनयुक्त एसयूभीको माग अझै बलियो रहेको देखाउँछ। चेरीको क्यूक्यू थ्री क्रसओभर ह्याचब्याक र ओमोडा ओ४ ले पनि पेट्रोल तथा आधुनिक क्रसओभर खण्डमा नयाँ विकल्प थप्नेछन्।
नाडा अटो शोको तयारी पनि कम रोचक छैन। त्यहाँ प्यासेन्जर भेहिकल, दुईपांग्रे र लाइट कमर्शियल भेहिकलका विभिन्न ब्रान्ड सहभागी हुनेछन्। यसले व्यक्तिगत प्रयोगका कारसँगै व्यवसायिक प्रयोजनका सवारीमा पनि नयाँ उत्पादन आउने देखाउँछ। एमएडब्लू वृद्धि समूहले निओभो क्यू०५ विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ। यसको डिजाइनले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाइसकेको र २७३५ मिलिमिटर लामो ह्विलबेस रहेको तथ्यले पनि यो मोडलप्रति बजारको ध्यान तान्नेछ।
दुई अटो प्रदर्शनीबीचको प्रतिस्पर्धा अन्ततः ग्राहकका लागि फाइदाजनक बन्न देखिएको छ । एउटै अवधिमा यति धेरै नयाँ मोडल उपलब्ध हुँदा ग्राहकले मूल्य मात्र नभई ब्याट्रीको आकार, रेन्ज, चार्जिङ समय, मोटर क्षमता, सुरक्षा प्रणाली, स्पेयर पार्ट्सको उपलब्धता र पुनर्बिक्री मूल्यसमेत तुलना गर्ने सम्भावना हुनेछ ।











