पञ्चकन्या माई हाइड्रोपावरको वित्तीय सुधार, ६ करोड ८५ लाख नोक्सानीबाट ६ करोड ६८ लाख नाफामा

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गर्दै खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ठूलो नोक्सानीमा रहेको यस कम्पनीले समीक्षा अवधिमा आफूलाई नाफाको लयमा फर्काएको हो ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा कम्पनीले ६ करोड ६७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनी ६ करोड ८५ लाख ६१ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।
कम्पनीको आम्दानीको मुख्य स्रोत विद्युत बिक्रीमा भएको बढोत्तरीले यसको नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ । गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट कुल ३४ करोड ७१ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो वर्षको २९ करोड ३१ लाख २८ हजार रुपैयाँको तुलनामा करिब १८.४३ प्रतिशतको वृद्धि हो ।
१ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६.०७ रुपैयाँ कायम भएको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ८३.३९ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष अझै पनि १८ करोड २६ लाख ८२ हजार रुपैयाँले ऋणात्मक रहे तापनि अघिल्लो वर्षको तुलनामा यो घाटाको दरमा उल्लेख्य कमी आएको हो ।
सञ्चालनका क्रममा अपर माई पावर प्लान्टमा देखिएको केही प्राविधिक समस्याका कारण २०८३ वैशाख ७ देखि असार ८ गतेसम्म उत्पादनमा अवरोध आए तापनि समग्र आम्दानी र नाफामा कम्पनीले आफूलाई अब्बल सावित गरेको छ । दक्ष जनशक्तिको अभाव र वर्षायाममा हुने प्राकृतिक जोखिम जस्ता चुनौतीहरूका बीच पनि कम्पनीले अघिल्लो वर्षको तुलनामा वित्तीय रूपमा सुदृढ नतिजा निकाल्न सफल भएको हो ।











