ईभीदेखि हाइब्रिडसम्मका गाडीको कुम्भमेला : ५५ ब्रान्डले तताउँदैछ नाइमा एक्स्पो, के छन् मुख्य आकर्षण ?

२५ श्रावण २०८३, सोमबार १३:१६

काठमाडौँ । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय (ईभी) तथा हाइब्रिड प्रविधिका नयाँ उत्पादन मुख्य आकर्षण बन्ने भएका छन् । नाइमाले एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) बाट छुट्टिएर २०८२ साल वैशाख ३ गते औपचारिक रूपमा घोषणा भएको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको यो दोस्रो अटो शो हो । पहिलो अटो शो भव्य रूपमा सम्पन्न गरेको नाइमाले दोस्रो संस्करणलाई अझ फराकिलो, आकर्षक र प्रभावकारी बनाउने तयारी गरेको छ । ६ दिनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डको सहभागिता रहनेछ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारी, ईभी तथा हाइब्रिड गरी ४० भन्दा बढी नयाँ सवारीसाधन नेपाली बजारमा पहिलोपटक सार्वजनिक गरिनेछन् ।

यस वर्षको प्रदर्शनीमा विशेषगरी विद्युतीय सवारीसाधन मुख्य आकर्षण बन्ने आयोजकको दाबी छ । टाटा, बीवाईडी, किया, टोयोटा, हुन्डाई, एमजी, निसान र हाभलजस्ता स्थापित फोर–ह्विलर ब्रान्डसँगै ओमोडा, जेइकु, आयन र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडल पनि प्रदर्शन गरिनेछन् । यसले नेपाली बजारमा स्थापित ब्रान्डसँगै नयाँ चिनियाँ तथा अन्य अन्तर्राष्ट्रिय ब्रान्डले आफ्नो उपस्थिति कसरी विस्तार गरिरहेका छन् भन्ने स्पष्ट देखाउनेछ ।

दुई पाङ्ग्रे सवारीतर्फ पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलको उपस्थिति उल्लेख्य रहनेछ। प्युजो, एनआईयु, याडिया, एसर र ग्यारोजस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फजस्ता स्थापित कम्पनीले आफ्ना नयाँ उत्पादन एक्स्पोमा प्रदर्शन गर्नेछन् । यसरी चार पाङ्ग्रेमा ईभी र हाइब्रिडको बढ्दो प्रतिस्पर्धासँगै दुई पाङ्ग्रेमा पनि विद्युतीय प्रविधिको विस्तारलाई एक्स्पोले देखाउनेछ ।

एक्स्पोमा विद्युतीय सवारी मात्र नभई पेट्रोल, हाइब्रिड र प्लग–इन हाइब्रिड सवारीबीच पनि प्रतिस्पर्धा देखिनेछ । ग्राहकको आवश्यकता पनि एकरूप छैन । कोही शहरी यात्राका लागि सानो ईभी खोजिरहेका छन्, कोही लामो दूरी र पारिवारिक प्रयोगका लागि ठूलो एसयूभी रोजिरहेका छन् भने केही ग्राहक पेट्रोल र इलेक्ट्रिक दुवै प्रविधिको सुविधा भएको हाइब्रिड वा प्लग–इन हाइब्रिडतर्फ आकर्षित भइरहेका छन्। बजारमा आएका नयाँ उत्पादनले यिनै फरक आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेका छन्।

अबको प्रतिस्पर्धा केवल गाडीको मूल्यमा सीमित रहने छैन । ब्याट्री क्षमता, मोटरको शक्ति, ड्राइभिङ रेन्ज, चार्जिङ सुविधा, स्मार्ट फिचर, सुरक्षा प्रविधि, डिजाइन, आराम र बिक्रीपछिको सेवासमेत ग्राहकको निर्णयका आधार बन्नेछन्। विशेषगरी ईभी बजारमा ब्रान्डको संख्या बढेसँगै ग्राहकले एउटै मूल्यमा फरक–फरक प्रविधि र सुविधा तुलना गर्न सक्ने अवस्था बन्नेछ ।

एक्स्पोको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ भने ‘पावर्ड बाइ पार्टनर’का रूपमा रेड बुल नेपाल जोडिएको छ । आईएमई पे टिकटिङ पार्टनर रहेको एक्स्पोमा विद्यार्थीका लागि प्रवेश शुल्क १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ तोकिएको छ ।

कुन कुन मोडल देखिनेछन् ?

एक्स्पोमा टाटा, हुन्डाई, एमजी, सिट्रोन, प्रोटोन, विलिङ, फोरथिङ, म्याक्सस, प्युजो र केईलगायतका ब्रान्डसँगै सुजुकी, महिन्द्रा, ग्रेटवाल मोटर्स, बीएआईसी, जेटोर, किया, एमजी आएम, लिपमोटर, ओमोडा–जेको, आईकार, टोयोटा र बीवाईडीजस्ता नाम देखिनेछन्।

विशेषगरी नेपाली बजारमा चिनियाँ कम्पनीको उपस्थिति पहिलेभन्दा निकै फराकिलो बनेको छ। केही वर्षअघिसम्म भारतीय र जापानी ब्रान्डको बलियो प्रभाव रहेको बजारमा अहिले चिनियाँ कम्पनीले विद्युतीय गाडीमा मात्र होइन, हाइब्रिड, प्लग–इन हाइब्रिड, पेट्रोल एसयूभी र प्रिमियम सेग्मेन्टसम्म आक्रामक प्रवेश गरिरहेका छन्। मूल्यसँगै डिजाइन, मोटर क्षमता, ब्याट्री, ड्राइभिङ रेन्ज र स्मार्ट फिचरलाई प्रतिस्पर्धाको आधार बनाउने प्रवृत्ति बढेको छ। नाइमा एक्स्पोमा देखिने नयाँ उत्पादनहरूले यही परिवर्तनलाई थप स्पष्ट बनाउनेछन्।

बीएआईसीको बीजे३० यसको एउटा उदाहरण बन्न सक्छ। हाइब्रिड प्रविधिमा आधारित यो एसयूभीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग दुईवटा विद्युतीय मोटरको संयोजन गरिएको छ। यसको संयुक्त शक्ति ४०९ हर्सपावरसम्म पुग्ने र टर्क ६८५ न्युटन मिटर रहने दाबी गरिएको छ।

यही कारण जेटोरका प्लग–इन हाइब्रिड एसयूभी पनि नेपाली बजारका लागि चासोका विषय बनेका छन्। पूर्ण विद्युतीय गाडीमा तत्काल जान नचाहने ग्राहकलाई लक्षित गर्दै पेट्रोल इन्जिन र विद्युतीय प्रणालीको संयुक्त प्रयोग हुने मोडल बजारमा ल्याउने रणनीति आयातकर्ताले अपनाएका छन्। जेटोर टी१ र टी२ जस्ता मोडलले यही नयाँ ग्राहक समूहलाई समात्ने प्रयास गर्नेछन्। यसले नेपालमा विद्युतीय र पेट्रोल सवारीबीच हाइब्रिड प्रविधिले छुट्टै बजार बनाउन खोजिरहेको संकेत गर्छ।

विद्युतीय सेग्मेन्टमा भने प्रतिस्पर्धा अझ फराकिलो हुँदै गएको छ। आर्कफक्स टी१ जस्तो कम्प्याक्ट ह्याचब्याकदेखि महिन्द्राको एक्सईभी ९ई, टाटा पञ्च ईभीको अद्यावधिक संस्करण, बीवाईडीका नयाँ उत्पादन, लिपमोटर बी०३ र विलिङका विभिन्न मोडलसम्मका गाडीले ग्राहकलाई फरक–फरक विकल्प दिनेछन्। आर्कफक्स टी१ मा ४२.४ किलोवाट आवरको ब्याट्री र ७० किलोवाटको मोटर प्रयोग गरिएको छ। सहर केन्द्रित ग्राहकका लागि सानो आकारको तर आधुनिक विद्युतीय कारको माग बढ्दै गएकाले यसको उपस्थिति अर्थपूर्ण हुन सक्छ।

टाटा पञ्च ईभीको नयाँ संस्करणले पनि प्रतिस्पर्धालाई थप रोचक बनाउनेछ। यसमा ३० र ४० किलोवाट आवरका ब्याट्री विकल्प उपलब्ध हुनेछन्। भारतीय ब्रान्डले विद्युतीय कारलाई ठूलो एसयूभीमा मात्र सीमित नराखी सानो आकारको शहरी गाडीमा समेत विस्तार गरिरहेको छ। टाटा सियारा ईभीको प्रदर्शनले भने कम्पनीको आगामी विद्युतीय एसयूभी रणनीतितर्फ पनि ध्यान तान्नेछ। सानो शहरी कारदेखि ठूलो एसयूभीसम्म ईभीको दायरा विस्तार गर्ने प्रयास यसबाट देखिन्छ।

महिन्द्राको एक्सईभी ९ई पनि प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि आकर्षणको केन्द्र बन्न सक्छ। यसअघि बीई ६ मार्फत विद्युतीय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाएको महिन्द्राले नयाँ मोडलमार्फत ठूलो आकार र उच्च क्षमताको एसयूभी खण्डमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। भारतीय बजारमा विभिन्न ब्याट्री क्षमताका विकल्पसहित उपलब्ध यो मोडल नेपाली बजारमा कस्तो मूल्य र स्पेसिफिकेसनमा आउँछ भन्ने विषय ग्राहकका लागि महत्वपूर्ण हुनेछ।

बीवाईडीले पनि नयाँ उत्पादनमार्फत आफ्नो पोर्टफोलियो विस्तार गर्ने तयारी गरेको छ। सिलाइन०८ को प्रवेशसँगै कम्पनीले प्रिमियम तथा ठूलो आकारको विद्युतीय सवारीमा आफ्नो दायरा बढाउनेछ। त्यससँगै डेन्जा ब्रान्डको आगमनले नेपालमा बीवाईडीको व्यापारिक रणनीति थप माथिल्लो मूल्य वर्गतर्फ जाने संकेत गरेको छ। एटो ३ को फेसलिफ्ट संस्करण पनि आउन लागेको अवस्थामा कम्पनीले पुराना सफल मोडललाई अद्यावधिक गर्दै नयाँ ग्राहक खोज्ने रणनीति लिएको देखिन्छ।

ग्रेटवाल मोटर्सले पनि नेपाली बजारमा नयाँ विकल्प थप्दैछ। ओरा ५ विद्युतीय मोडलसँगै हाभलको विद्युतीय उत्पादन र जोलियन म्याक्सलाई बजारमा ल्याउने तयारीले कम्पनीलाई इलेक्ट्रिक र एसयूभी दुवै खण्डमा फैलाउनेछ। जोलियन म्याक्समा १५० किलोवाट मोटर र ५८.३ किलोवाट आवर ब्याट्री रहने अपेक्षा गरिएको छ। यसले मध्यम आकारको विद्युतीय एसयूभीमा प्रतिस्पर्धा थप तीव्र पार्नेछ।

प्रिमियम वर्गमा हङ्कीको प्रवेशलाई पनि विशेष रूपमा हेरिएको छ। चिनियाँ बजारमा उच्चस्तरीय सवारी उत्पादनका लागि परिचित यो ब्रान्ड नेपालमा आउनुले प्रिमियम कारको प्रतिस्पर्धामा नयाँ खेलाडी थपिनेछ। चिनियाँ ब्रान्डप्रति नेपाली उपभोक्ताको धारणा पछिल्ला केही वर्षमा परिवर्तन हुँदै गएकाले महँगा सवारीमा समेत उनीहरूको प्रवेश सम्भव भएको हो। सामान्य र मध्यम मूल्यका ईभीबाट सुरु भएको चिनियाँ ब्रान्डको विस्तार अब प्रिमियम सवारीसम्म पुग्नु नेपाली बजारको बदलिँदो स्वरूपको अर्को संकेत हो।

विलिङले पनि आफ्नो उपस्थिति विस्तार गर्दै स्टरलाइट ५६० ईभी, एक्सियन ईभी र सानो आकारको मिनी ईभीलाई अगाडि सारेको छ। एक्सियनमा ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री र १५० किलोवाट मोटर रहनेछ भने सात सिट क्षमताले परिवारमुखी ग्राहकलाई लक्षित गर्नेछ। अर्कोतर्फ मिनी ईभीले सहरी यात्राका लागि सानो र सहज विद्युतीय गाडी खोज्ने ग्राहकलाई समेट्न सक्छ। यसरी एउटै ब्रान्डले फरक–फरक आकार र प्रयोगका ग्राहकलाई लक्षित गर्ने रणनीति अघि सारेको छ।

लिपमोटर बी०३ पनि नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ। ३९.८ र ५३ किलोवाट आवरका दुई ब्याट्री विकल्पले ग्राहकलाई बजेट र प्रयोगअनुसार छनोटको अवसर दिनेछन्। विद्युतीय गाडीको बजार विस्तार भइरहँदा यस्ता नयाँ कम्पनीको प्रवेशले स्थापित ब्रान्डलाई पनि मूल्य, रेन्ज, सुविधा र प्रविधिमा थप प्रतिस्पर्धी बन्न बाध्य पार्नेछ। बजारमा ब्रान्डको संख्या बढेसँगै ग्राहकको छनोट क्षमता पनि बढ्नेछ भने कम्पनीहरूबीच प्रतिस्पर्धा थप तीव्र हुने देखिन्छ।

ईभीको बढ्दो प्रभावका बीच पेट्रोल सेग्मेन्ट भने पूर्ण रूपमा कमजोर भएको छैन। निसानले टेकटन एसयूभीमार्फत पेट्रोल सेग्मेन्टमा आफ्नो नयाँ प्रस्तुति दिनेछ। १.० लिटर टर्बो पेट्रोल इन्जिनसँग म्यानुअल गियरबक्स तथा १.३ लिटर टर्बो जीडीआई इन्जिनसँग डुअल क्लच ट्रान्समिसनको विकल्पले परम्परागत इन्जिनयुक्त एसयूभीको माग अझै बलियो रहेको देखाउँछ। चेरीको क्यूक्यू थ्री क्रसओभर ह्याचब्याक र ओमोडा ओ४ ले पनि पेट्रोल तथा आधुनिक क्रसओभर खण्डमा नयाँ विकल्प थप्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*