कपन वर्कसपमा सिप्रदीको ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट सञ्चालनमा

२५ श्रावण २०८३, सोमबार १४:०४

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिक क्षमताको रूफटप सोलार प्लान्ट सञ्चालनमा आएको छ। विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला त्यसको चार्जिङ, मर्मत तथा सर्भिसिङमा समेत स्वच्छ ऊर्जा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको उक्त प्लान्टलाई व्यावसायिक क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्ने प्रयासका रूपमा हेरिएको हो ।

प्लान्टको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।सम्झौता भएको तीन महिनामै निर्माण सम्पन्न गरिएको प्लान्टबाट वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ। प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधिको प्रयोग गरिएको छ। यहाँबाट उत्पादन हुने विद्युत् सिप्रदीको कपन वर्कसपमा ईभी चार्जिङसँगै सवारीसाधनको मर्मत तथा सर्भिसिङलगायतका काममा प्रयोग गरिनेछ।

सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले विद्युतीय सवारीसाधनको बिक्री र वितरण मात्र नभई त्यससँग जोडिएको चार्जिङ, मर्मत तथा सर्भिसिङ प्रक्रियालाई समेत वातावरणमैत्री बनाउने उद्देश्यले परियोजना अघि बढाइएको बताए। उनका अनुसार विद्युतीय सवारीसाधनले प्रत्यक्ष रूपमा प्रदूषण घटाउन मद्दत गरे पनि त्यसको सञ्चालन र सर्भिसिङमा प्रयोग हुने ऊर्जा स्वच्छ हुन सके मात्र वातावरणीय लाभ अझ प्रभावकारी बन्न सक्छ।

ईभीको बढ्दो प्रयोगसँगै त्यसका लागि आवश्यक पूर्वाधार र सेवामा पनि स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। यही सोचअनुसार कपन वर्कसपबाट स्वच्छ ऊर्जाको प्रयोगलाई व्यवहारमा उतार्ने अभियान सुरु गरिएको श्रेष्ठले बताए।

प्राइम रिन्युएबल्सका अध्यक्ष गर्गले विद्युतीय सवारीसाधनलाई ऊर्जा उपलब्ध गराउने स्रोतसमेत स्वच्छ भए मात्र त्यसको वास्तविक दिगोपन सुनिश्चित हुने बताए। सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्सजस्ता ब्रान्डसँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग विस्तार गर्ने सम्भावना थप बलियो बनाएको उनले उल्लेख गरे।

सौर्य ऊर्जाको प्रयोगले व्यावसायिक प्रतिष्ठानको विद्युत् खर्च घटाउनुका साथै अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भारका क्रममा हुने कार्बन उत्सर्जन न्यूनीकरणमा समेत योगदान पुर्‍याउने कम्पनीको अपेक्षा छ। विशेषगरी नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला चार्जिङदेखि सर्भिसिङसम्मका गतिविधिमा स्वच्छ ऊर्जा प्रयोग गर्ने अभ्यासले ईभीको वातावरणीय लाभलाई थप अर्थपूर्ण बनाउने देखिन्छ।

कपन वर्कसपमा जडान गरिएको सोलार प्लान्टले उत्पादन गर्ने स्वच्छ विद्युत्ले सिप्रदीको दैनिक सञ्चालनमा नवीकरणीय ऊर्जाको हिस्सा बढाउनेछ। यसबाट कार्बन उत्सर्जन घटाउन योगदान पुग्नुका साथै व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको एकीकरणलाई समेत प्रोत्साहन मिल्ने कम्पनीको विश्वास छ।

सिप्रदी र प्राइम रिन्युएबल्सको यो सहकार्यलाई व्यावसायिक प्रयोजनमा नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। ईभीको विस्तारसँगै त्यसलाई चलाउने ऊर्जाको स्रोतलाई पनि स्वच्छ बनाउने अभ्यासले नेपाललाई न्यून तथा शून्य उत्सर्जनतर्फ अघि बढाउने प्रयासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*