भन्सारमा बिचौलिया राज अन्त्य गर्ने विभागको कदम, अनधिकृत व्यक्तिमाथि लगाम

काठमाडौं । भन्सार जाँचपास प्रक्रियामा वर्षौंदेखि देखिँदै आएको बेथिति नियन्त्रण गर्न भन्सार विभागले अनधिकृत व्यक्तिको संलग्नता रोक्ने गरी निर्देशन जारी गरेपछि भन्सार एजेन्ट महासंघ नेपालले त्यसको स्वागत गरेको छ।
भन्सार जाँचपासका नाममा इजाजतप्राप्त भन्सार एजेन्टबाहेकका व्यक्तिको संलग्नता, इजाजतपत्रको दुरुपयोग तथा कानूनले तोकेको प्रक्रियाविपरीतका गतिविधि हुँदै आएको भन्दै पछिल्लो समय भन्सार प्रणालीको कार्यशैलीमाथि प्रश्न उठ्दै आएको छ। यस्ता गतिविधिले भन्सार प्रशासनको पारदर्शिता र उत्तरदायित्व कमजोर बनाउनुका साथै राज्यको राजस्व सुरक्षामा समेत जोखिम बढाएको थियो ।
यही पृष्ठभूमिमा भन्सार विभागले हालै जारी गरेको परिपत्रले नियुक्तिपत्र प्राप्त इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिमार्फत मात्रै जाँचपास प्रक्रिया सञ्चालन गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। विभागको उक्त कदमले भन्सार जाँचपासमा देखिँदै आएको अनधिकृत संलग्नता र इजाजतपत्रको दुरुपयोग नियन्त्रण गर्न सहयोग पुग्ने महासंघको विश्वास छ।
महासंघले कानूनबमोजिमको भन्सार जाँचपास प्रणाली कार्यान्वयनमा आफू पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। भन्सार जाँचपासमा अनधिकृत व्यक्तिको प्रवेश, इजाजतपत्रको दुरुपयोग तथा गैरकानुनी अभ्यासको महासंघले विगतदेखि नै विरोध गर्दै आएको दाबी गरेको छ।
महासंघका अनुसार कानूनले तोकेको प्रक्रियाबाहिर गएर हुने गतिविधिले राजस्व सुरक्षा कमजोर पार्नुका साथै वैध रूपमा व्यवसाय सञ्चालन गरिरहेका भन्सार एजेन्टलाई समेत प्रतिकूल असर पार्छ। त्यसैले जाँचपास प्रक्रियामा संलग्न प्रत्येक पक्षको भूमिका, अधिकार र जिम्मेवारी स्पष्ट हुनुपर्ने महासंघले जनाएको छ।
भन्सार विभागको निर्देशन कार्यान्वयनसँगै व्यवहारिक तथा संरचनागत समस्या देखिन सक्ने भन्दै महासंघले त्यस्ता समस्या तथ्य र अनुभवका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएको छ। त्यसका लागि सरकार तथा भन्सार विभागसँग संस्थागत संवादमार्फत सहकार्य गर्ने प्रतिबद्धता पनि महासंघले जनाएको छ। भन्सार प्रणालीमा लामो समयदेखि देखिँदै आएका समस्या समाधान गर्न कानून कार्यान्वयनसँगै प्रणालीगत सुधार आवश्यक रहेको महासंघको भनाइ छ। भन्सार प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने तथा जाँचपासमा संलग्न सबै पक्षको जिम्मेवारी स्पष्ट पार्ने विषयमा सरकारसँग सहकार्य गर्ने महासंघले जनाएको छ।
महासंघले राजस्व सुरक्षा, वैध व्यापारको सहजीकरण तथा आधुनिक र उत्तरदायी भन्सार प्रशासन निर्माणमा सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ। भन्सार जाँचपासमा कानूनको प्रभावकारी कार्यान्वयन र जिम्मेवारीको स्पष्टताले लामो समयदेखि देखिँदै आएको बेथिति नियन्त्रण हुनुका साथै राजस्व चुहावट रोक्न र वैध व्यापार सहजीकरण गर्न समेत सकारात्मक प्रभाव पार्ने महासंघको अपेक्षा छ।











