नेपालमा चीनविरोधी गतिविधि रोक्न बेइजिङको आग्रह

२६ श्रावण २०८३, मंगलवार ०७:०१

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे चासो राखेका छन् ।

सोमबार भएको भेटमा राजदूत चाङले नेपालमा रहेका तिब्बती शरणार्थीको दर्ता तथा उनीहरूका गतिविधि, काठमाडौंमा ताइवानको झन्डा देखिएको घटना र नेपालमा चीनविरोधी गतिविधि हुन सक्ने विषयमा चासो व्यक्त गरेका हुन् ।

गत मार्च २८ मा काठमाडौंमा आयोजित १३औँ अन्तर्राष्ट्रिय लोक महोत्सवमा केही समय ताइवानको झन्डा देखाइएको विषय पनि उनले उठाएका थिए । विरोध भएपछि उक्त झन्डा हटाइएको थियो । राजदूत चाङले आगामी मे २७ मा भारतको धर्मशालामा हुने केन्द्रीय तिब्बती प्रशासनका प्रमुख पेन्पा छेरिङको शपथ समारोहबारे पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उक्त कार्यक्रममा नेपाल सरकारको कुनै पनि तहबाट सहभागिता नहोस् भन्ने चीनको अपेक्षा रहेको उनले बताएका थिए ।

चिनियाँ पक्षले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिन नेपाल सरकारसँग स्पष्ट प्रतिबद्धता खोजेको थियो । पछिल्लो समय नेपालमा तिब्बती धार्मिक नेताहरूको भ्रमण तथा तिब्बतसम्बन्धी गतिविधि बढेको विषयमा पनि चीनले चासो राख्दै आएको छ ।

गृहमन्त्री गुरुङले नेपालले लामो समयदेखि अपनाउँदै आएको ‘एक चीन नीति’प्रति प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकार तयार रहेको बताएका थिए । भेटमा गृहमन्त्रीले नेपाल आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुका साथै नेपाल कुनै पनि विदेशी शक्तिको स्वार्थमा प्रयोग नहुने धारणा पनि राखेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*