भृकुटीमण्डपमा आजबाट नाइमा मोबिलिटी एक्स्पो सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा एक्स्पो आज साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
६ दिनसम्म चल्ने एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारीसाधनसँगै विद्युतीय (ईभी) तथा हाइब्रिड प्रविधिका नयाँ गाडी मुख्य आकर्षण बनेका छन् । आयोजकका अनुसार प्रदर्शनीमा ५५ भन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ सवारीसाधन पहिलोपटक नेपाली बजारमा सार्वजनिक हुँदैछन् ।
एक्स्पोमा टाटा, बीवाईडी, किया, टोयोटा, हुन्डाई, एमजी, निसान, हाभल, महिन्द्रा, सुजुकीलगायत स्थापित ब्रान्डका साथै ओमोडा, जेइकु, आयन, बीएआईसी, जेटोर, लिपमोटर र विलिङजस्ता नयाँ ब्रान्डका मोडल पनि प्रदर्शनमा राखिएका छन् ।
विशेषगरी विद्युतीय सवारीतर्फ ग्राहकको आकर्षण बढेकाले यसपटकको एक्स्पोमा ईभीको उपस्थिति उल्लेख्य रहेको आयोजकले जनाएको छ । विभिन्न ब्रान्डले नयाँ ईभी, हाइब्रिड र प्लग–इन हाइब्रिड मोडलमार्फत नेपाली बजारमा आफ्नो प्रतिस्पर्धा बढाएका छन् ।
दुईपाङ्ग्रे सेग्मेन्टमा पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलका नयाँ मोडल प्रदर्शनमा छन् । प्युजो, एनआईयु, याडिया, एसर र ग्यारोजस्ता इलेक्ट्रिक ब्रान्डसँगै बजाज, टीभीएस, केटीएम र ट्रायम्फका उत्पादन पनि एक्स्पोमा राखिएका छन् । एक्स्पोमा ग्राहकले विभिन्न ब्रान्डका सवारीसाधनको मूल्य, रेन्ज, ब्याट्री क्षमता, सुरक्षा प्रविधि, डिजाइन तथा अन्य सुविधाबारे प्रत्यक्ष जानकारी लिन र मोडलहरू तुलना गर्न सक्नेछन् ।
आयोजकका अनुसार एक्स्पोले नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारीको बजारसँगै पेट्रोल र हाइब्रिड सवारीबीचको प्रतिस्पर्धालाई समेत देखाउनेछ । विद्यार्थीका लागि प्रवेश शुल्क १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ तोकिएको छ ।











