माउन्टेन इनर्जी नेपालको नाफा २९ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचकमा पनि उत्साहजनक वृद्धि

२६ श्रावण २०८३, मंगलवार ०९:१२

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षमा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा र आम्दानी दुवैमा उल्लेख्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६१ करोड ७४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफासँगै कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि सुखद वृद्धि देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ३० करोड ७२ लाख ४६ हजार रुपैयाँ रहेको यस्तो आम्दानी १७.३१ प्रतिशतले बढेर यो वर्ष १ अर्ब ५३ करोड ३५ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजीमा पनि २० प्रतिशतको बढोत्तरी भएको छ । अघिल्लो वर्ष २ अर्ब ६० करोड २७ लाख रुपैयाँ रहेको चुक्ता पुँजी हाल बढेर ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । पुँजी वृद्धिसँगै कम्पनीको जगेडा कोष पनि बढेर १ अर्ब ५८ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ । अघिल्लो वर्ष २३.७२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर २५.५२ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२९ गुणा कायम भएको विवरणमा उल्लेख छ ।

यस कम्पनीले हाल ५ मेगावाटको तादी खोला र ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*