हिमालय ऊर्जा विकास कम्पनीको नाफामा भारी उछाल, आम्दानीमा पनि ५० प्रतिशतको वृद्धि

२६ श्रावण २०८३, मंगलवार ०९:३५

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड (हुर्जा) ले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यावसायिक प्रगतिमा उत्साहजनक वृद्धि भएको देखाएको छ । समीक्षा अवधिमा कम्पनीले आफ्नो खुद नाफामा उल्लेख्य सुधार गर्दै उत्कृष्ट वित्तीय चित्र सार्वजनिक गरेको हो ।

विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३३०.६१ प्रतिशतले बढेर १४ करोड ९९ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले केवल ३ करोड ४८ लाख १५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यो प्रगति मुख्यतया विद्युत् बिक्रीबाट हुने आम्दानीमा आएको उत्साहजनक बढोत्तरीका कारण सम्भव भएको हो ।

कम्पनीको मुख्य व्यावसायिक स्रोत अर्थात् विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि भारी वृद्धि भएको छ । अघिल्लो वर्ष ३१ करोड ६५ लाख ५६ हजार रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी गत वर्ष ५३.६७ प्रतिशतले बढेर ४८ करोड ६४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । विद्युत् बिक्रीसँगै कम्पनीको कुल आम्दानी पनि अघिल्लो वर्षको ३२ करोड ३७ लाख ५५ हजार रुपैयाँबाट ५०.२८ प्रतिशतले वृद्धि भई ४८ करोड ६५ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ यथावत रहेको छ भने जगेडा कोषमा रहेको नकारात्मक सन्तुलनमा पनि उल्लेखनीय सुधार आएको छ । अघिल्लो वर्ष १७ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष गत वर्ष सुधारिएर ३ करोड ७० लाख रुपैयाँ ऋणात्मकमा झरेको छ ।

गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ७.५७ रुपैयाँ कायम भएको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ ९८.१३ रुपैयाँ र तरलता अनुपात ३२.४२ प्रतिशत रहेको विवरणमा उल्लेख छ । हाल कम्पनीले रामेछाप र दोलखा जिल्लामा रहेका १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती आयोजनाहरू सञ्चालन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*