छ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं । पुलको पुनः डिजाइन स्वीकृत गराइदिने र ठेक्काको भुक्तानी प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीसँग छ लाख रुपैयाँ घुस लिएको आरोपमा दुई सरकारी कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर हुनेमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्ली राज खड्का र लेखा अधिकृत (आठौँ) मिलन कुमार भट्टराई रहेका छन् ।
अख्तियारका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त भएको थियो । त्यसपछि अख्तियारको टंगालस्थित कार्यालय र इटहरीस्थित कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट छ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा खड्का र भट्टराईले आपसी मिलेमतोमा सेवाग्राहीसँग घुस मागेको खुलेको अख्तियारले जनाएको छ । पुलको डिजाइन, रिडिजाइन, तेस्रो पक्षबाट गरिने परीक्षण तथा ठेक्काको भुक्तानी प्रक्रिया मिलाइदिने भन्दै उनीहरूले छ लाख रुपैयाँ माग गरी लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम छ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबर जरिवानाको मागदाबी गरेको छ । आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा दुवै जनाविरुद्ध आरोपपत्र दायर गरेको हो ।











