एमजी ‘यूनाइन’को नेपालमा इन्ट्री : ३२५ किलोवाटको डुअल–मोटर, ४३० किमि रेन्ज

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा एमजी ब्रान्डले प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’ नेपाली बजारमा उतारेको छ । एमजीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले पूर्ण विद्युतीय प्रविधिमा आधारित यो डबल क्याब पिकअप सार्वजनिक गरेको हो ।
लाइफस्टाइल, शक्ति र अत्याधुनिक प्रविधिको संयोजनका रूपमा प्रस्तुत गरिएको ‘यूनाइन’ले नेपालमा विद्युतीय पिकअपको बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ । विद्युतीय सवारीप्रति उपभोक्ताको चासो बढिरहेको अवस्थामा प्रिमियम पिकअप वर्गमा आफ्नो उपस्थिति बलियो बनाउने उद्देश्यले कम्पनीले यो मोडल ल्याएको जनाएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा एमजी यूनाइनलाई हल बीको एल २ स्टलमा अवलोकन गर्न सकिनेछ । प्यारामाउन्ट मोटर्सले पछिल्लो समय आफ्नो विद्युतीय सवारीको दायरालाई विस्तार गर्दै आएकोमा यूनाइनमार्फत प्रिमियम इलेक्ट्रिक पिकअपतर्फ प्रवेश गरेको हो ।

यूनाइनमा १०२.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ । पूर्ण चार्जमा यसले डब्लुएलटीपी परीक्षणअनुसार ४३० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । पिकअपमा ३२५ किलोवाट क्षमताको डुअल मोटर प्रणाली जडान गरिएको छ भने अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
चार्जिङका हिसाबले पनि यूनाइनलाई तीव्र क्षमताको बनाइएको छ । डीसी फास्ट चार्जर प्रयोग गर्दा १० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब १० मिनेट लाग्ने बताइएको छ ।
आकारमा पनि यूनाइन ठूलो र बलियो पिकअपका रूपमा प्रस्तुत भएको छ । यसको लम्बाइ ५५०० मिलिमिटर, चौडाइ १९९७ मिलिमिटर र उचाइ १८६० मिलिमिटर छ । ३३०० मिलिमिटरको ह्वीलबेस र २२० मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले यसलाई विभिन्न सडक तथा भूगोलमा प्रयोगका लागि उपयुक्त बनाउने अपेक्षा गरिएको छ । २० इन्चका पाङ्ग्रा रहेको पिकअपले ११०० किलोग्रामसम्मको पेलोड बोक्न सक्छ ।
यूनाइनको केबिनलाई आरामदायी र प्रिमियम अनुभव दिने गरी तयार पारिएको छ । यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, आठवटा स्पिकरसहितको जेबीएल साउन्ड सिस्टम तथा ६४ रङको एम्बियन्ट लाइटिङ उपलब्ध छ । फ्ल्यागशिप संस्करणमा चालकका लागि ८–वे इलेक्ट्रिक सिट एडजस्टमेन्टसँगै भेन्टिलेसन, मसाज र मेमोरी फङ्सनसमेत दिइएको छ ।
सुरक्षातर्फ पनि पिकअपमा विभिन्न आधुनिक प्रणाली समावेश गरिएको छ । ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्टलगायतका एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमले चालकलाई थप सहज र सुरक्षित ड्राइभिङ अनुभव दिने कम्पनीको अपेक्षा छ ।
व्यावसायिक उपयोगितालाई समेत ध्यानमा राखिएको यूनाइनमा ३५०० किलोग्रामसम्मको लोडिङ क्षमता रहेको छ । त्यस्तै, भी२एल प्रविधिमार्फत गाडीमा सञ्चित विद्युत्बाट विभिन्न विद्युतीय उपकरण सञ्चालन गर्न सकिने सुविधा पनि उपलब्ध छ ।











