नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीले एकैपटक ल्यायो तीन नयाँ मोडल, कति पर्छ मूल्य ?

२६ श्रावण २०८३, मंगलवार १४:३२

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीले नेपाली बजारमा एकैपटक तीन नयाँ मोडल सार्वजनिक गरेको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नाइमा मोबिलिटी एक्स्पोमार्फत एटो १ र एटो ३ को फेसलिफ्ट तथा एटो २ को नयाँ बेस भेरियन्ट सार्वजनिक गरेको हो।

नयाँ मोडल सार्वजनिक भएसँगै बीवाईडीले नेपाली बजारमा आफ्नो एटो सिरिजलाई थप विस्तार गरेको छ। विशेषगरी ४५ किलोवाट आवर ब्याट्रीसहितको एटो २ को नयाँ बेस भेरियन्टले तुलनात्मक रूपमा कम मूल्यमा कम्प्याक्ट विद्युतीय एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ।

यसअघि नेपालमा एटो २ को ५१.१३ किलोवाट आवर ब्याट्री भएको भेरियन्ट मात्र उपलब्ध थियो। अब कम्पनीले ४५ किलोवाट आवर ब्याट्रीसहितको ‘एसेन्सियल’ बेस भेरियन्ट पनि नेपाली बजारमा ल्याएको हो। यसको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, एटो २ प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

एटो २ लाई बीवाईडीले कम्प्याक्ट विद्युतीय एसयूभीका रूपमा बजारमा प्रस्तुत गर्दै आएको छ। नयाँ बेस भेरियन्ट थपिएसँगै ग्राहकले आफ्नो बजेट र आवश्यकताअनुसार एटो २ का विभिन्न विकल्प छनोट गर्न सक्ने भएका छन्।

बीवाईडीले लामो समयदेखि नेपाली बजारमा बिक्री हुँदै आएको एटो ३ को फेसलिफ्ट संस्करणसमेत सार्वजनिक गरेको छ। नयाँ एटो ३ मा बाहिरी डिजाइनसँगै प्रविधि र चार्जिङ प्रणालीमा समेत सुधार गरिएको कम्पनीले जनाएको छ। एटो ३ एडभान्स्डको मूल्य ६२ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने सुपेरियर भेरियन्टको मूल्य ७८ लाख रुपैयाँ रहेको छ।

नेपाली विद्युतीय सवारीसाधन बजारमा बीवाईडीको लोकप्रिय मोडलमध्ये रहेको एटो ३ को फेसलिफ्ट संस्करणमा डिजाइन तथा प्रविधिमा गरिएको सुधारले यसको प्रतिस्पर्धात्मक क्षमता थप बढाउने अपेक्षा गरिएको छ।

त्यस्तै, बीवाईडीले आफ्नो सानो विद्युतीय ह्याचब्याक एटो १ को फेसलिफ्ट संस्करण पनि सार्वजनिक गरेको छ। सहरी तथा इन्ट्री लेभल विद्युतीय गाडीका रूपमा लक्षित एटो १ को नयाँ संस्करणमा डिजाइन र फिचरमा परिमार्जन गरिएको छ।

एटो १ फेसलिफ्टको डायनामिक भेरियन्टको मूल्य ३० लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ८० हजार रुपैयाँ रहेको छ। नेपालमा उपलब्ध एटो १ को डायनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। यसले करिब २३० किलोमिटर रेन्ज दिने बताइएको छ।

फेसलिफ्ट संस्करणमा वायरलेस चार्जर तथा ३६० डिग्री क्यामेराजस्ता फिचर थप गरिएको कम्पनीले जनाएको छ। नयाँ सुविधाले सहरी क्षेत्रमा दैनिक प्रयोगका लागि एटो १ लाई थप सुविधाजनक बनाउने कम्पनीको अपेक्षा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*