९ महिनामै सिजी पाल्पाको साढे २ अर्ब कारोबार, १३ अर्ब ६५ करोड कर्जाको रेटिङ

२७ श्रावण २०८३, बुधबार १२:१८

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालि (सिजी पाल्पा)ले ९ महिनमा नै साढे २ अर्बको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२।०८३ को ९ महिनासम्मको अवधिमा २ अर्ब ५९ करोड रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीको कुल आम्दानीमध्ये करिब ४२ प्रतिशत आम्दानी यही समूहभित्रको पिसाइ एकाइलाई क्लिङ्कर बिक्री गरेर प्राप्त भएको छ । आफ्नै समूहभित्रको उत्पादन तथा बिक्री संरचनालाई प्रभावकारी रूपमा उपयोग गर्दै कम्पनीले कारोबार विस्तार गरिरहेको हो । चौधरी ग्रुपले करिव १५ अर्ब रुपैयाँ लगानी उक्त उद्योग स्थापना गरेको हो ।

सन् २०२३ मा व्यावसायिक रूपमा सञ्चालनमा आएको सिजी पाल्पाले छोटो समयमै बजारमा राम्रो पकड बनाउन सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँ खुद आम्दानी आर्जन गरेको थियो । पछिल्लो नौ महिनाको कारोबारले कम्पनीको व्यवसाय विस्तारको गति थप तीव्र बनेको संकेत गरेको छ ।

कम्पनीले दैनिक २ हजार ९ सय ५० टन क्लिङ्कर उत्पादन गर्ने क्षमताको क्लिङ्कर उत्पादन एकाइ सञ्चालनमा ल्याएको छ । उक्त एकाइबाट सन् २०२३ को सेप्टेम्बरदेखि व्यावसायिक उत्पादन सुरु भएको हो । कम्पनीले इजाजत प्राप्त दैनिक २ हजार ८ सय टन क्षमतामध्ये दैनिक १ हजार टन क्षमताको पिसाइ एकाइसमेत निर्माण गर्ने प्रक्रियालाई अघि बढाइरहेको छ । यसले आगामी दिनमा कम्पनीको उत्पादन तथा बजार विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिजी पाल्पाको अर्को महत्वपूर्ण सबल पक्ष यसको कारखाना र चुनढुङ्गा खानीबीचको तुलनात्मक रूपमा कम दूरी हो । अन्य प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा कारखाना चुनढुङ्गा खानीको नजिक रहेकाले कच्चा पदार्थ ढुवानी लागत कम पर्ने अवस्था छ । यसले कम्पनीको सञ्चालन लागत नियन्त्रण गर्न र समग्र सञ्चालनलाई थप लाभदायक बनाउन सहयोग पुर्‍याएको छ ।

कम्पनीको सञ्चालन आम्दानीमा सञ्चालनबाट प्राप्त नाफा तथा मूल्यह्रास, ब्याज र करअघिको आम्दानीको अनुपातमा समेत उल्लेख्य सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो अनुपात १८ दशमलव ६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य वृद्धि भई ३८ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा भने यस्तो अनुपात २९ दशमलव ९ प्रतिशत कायम भएको छ ।

कम्पनीको वित्तीय संरचनातर्फ हेर्दा कुल ऋण र मूर्त खुद सम्पत्तिबीचको अनुपात आर्थिक वर्ष २०८१/८२ मा ५ दशमलव ६ गुणामै कायम रहेकोमा आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा बढेर ७ दशमलव २ गुणा पुगेको छ । त्यस्तै, कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिबीचको अनुपात आर्थिक वर्ष २०८१/८२ मा घटेर ६ दशमलव २ गुणा भएकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर ७ दशमलव ८ गुणा पुगेको छ ।

कुल ऋण र सञ्चालनबाट प्राप्त नाफा तथा मूल्यह्रास, ब्याज र करअघिको आम्दानीबीचको अनुपातमा भने कम्पनीले सुधार कायम राखेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस अनुपातमा उल्लेख्य सुधार भई १३ दशमलव ८ गुणा पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा १३ दशमलव ३ गुणा कायम रहेको छ ।

सन् २०१३ मा १५ सय प्रतिदिन क्षमता ग्राइडिङ युनिट उत्पादन लक्ष्य राखेर पाल्पाको सर्वेदा रैनादेवी छहरा गाउँपालिकामा उद्योग स्थापना भएको थियो। निर्माण सम्पन्न भएर सन् २०२३ सेप्टेम्बरबाट उत्पादन सुरु गरेको हो।

सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालि (सीजी पाल्पा) को कर्जाको रेटिङ इक्रा नेपालले पुनः पुष्टि गरेको छ । इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा सीमातर्फको १० अर्ब ९० करोड रुपैयाँ बराबरको रेटिङ “आईसीआरए एनपी एलडी” र अल्पकालीन कर्जा सीमातर्फको २ अर्ब ७५ करोड रुपैयाँ बराबरको रेटिङ “आईसीआरए एनपी डी” मा पुनः पुष्टि गरेको हो । यससँगै कम्पनीको कुल रेटेड कर्जा सीमा १३ अर्ब ६५ करोड रुपैयाँ कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*