सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छः सांसद थापा

२७ श्रावण २०८३, बुधबार १३:२७

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुका दुःखद घटनाप्रति सदनको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् थापाले साम्प्रदायिक तथा जातीय द्वन्द्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डतामा पार्न सक्ने दीर्घकालीन प्रभावप्रति संवेदनशील हुन आग्रह गरेका हुन्। थापाले यस्ता घटनालाई राजनीतिक आरोप(प्रत्यारोपमा मात्र सीमित नगरी घटनाको गहन छानबिन मार्फत वास्तविक कारण, अफवाह, भीड परिचालन र सुरक्षा कमजोरीको पहिचान गर्नुपर्ने बताए।

उनले विगतका घटनाबाट पाठ सिक्दै भविष्यमा हिंसा हुनुअघि नै जोखिम पहिचान र हस्तक्षेप गर्न प्रभावकारी पूर्वसूचना तथा रोकथाम प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। ‘सामाजिक सञ्जाल, दुष्प्रचार, एआई प्रविधि  र डीपफेक मार्फत केही घण्टामै हिंसा भड्किन सक्ने वर्तमान परिवेश छ, यसलाई सम्बोधन गर्न कानुनी संयन्त्रसहित डिजिटल जोखिम नियन्त्रण, सुरक्षा संयन्त्रको आधुनिकीकरण तथा एकीकृत सुरक्षा प्रणाली निर्माण गर्न आवश्यक छ,’ थापाले भने।

सांसद् थापाले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै समुदायका धर्मगुरू तथा सरोकारवालाको सहभागिता रहने गरी सर्वपक्षीय संयन्त्र गठन गर्न र साम्प्रदायिक संवेदनशीलता एवं सम्भावित जोखिमको निरन्तर मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरे।

यसैगरी, थापाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको प्रमाण हामीसँग रहेको भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति वीर पुर्खाको सम्मान, मातृभूमिप्रतिको अथाह प्रेम र क्षेत्रीय अखण्डताप्रतिको प्रतिबद्धता भएको टिप्पणी गरे। उनले यस विषयलाई उत्तेजना वा द्वन्द्वको माध्यम नबनाई कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिए।

सांसद् थापाले सामाजिक सद्भाव, राष्ट्रिय एकता र मातृभूमिको अखण्डता जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताउँदै सीमा तथा साम्प्रदायिक संवेदनशीलतामा राज्य थप गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*