यातायातमा बेथिति धेरै छ, जरिवाना मात्रै बढाएर समस्या समाधान हुँदैन : यातायात व्यवसायी सिटौला

२७ श्रावण २०८३, बुधबार १७:४३

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सडक तथा यातायात पूर्वाधारको अव्यवस्थित विकासका कारण सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती देखिएको बताएका छन् ।

बुधबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘हिजो, आज र भोलि कार्यक्रममा बोल्दै उनले नेपालमा विगतदेखि नै सडक तथा अन्य यातायात संरचना योजनाबद्धभन्दा पनि भद्रगोल रूपमा निर्माण हुँदै आएको बताएका हुन् ।

विकसित मुलुकमा सार्वजनिक यातायात सञ्चालनका लागि सडकको संरचना र लेन व्यवस्थापन व्यवस्थित हुने गरेको भए पनि नेपालमा त्यस्तो व्यवस्था हुन नसकेको उनको भनाइ छ । सिटौलाले दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै लेनको व्यवस्था नहुँदा सडकमा सवारी व्यवस्थापन थप जटिल बनेको बताए ।

विशेषगरी बिहानको समयमा कार्यालय तथा अन्य कामका लागि ठूलो संख्यामा मानिसहरू सवारी साधन प्रयोग गर्ने भए पनि त्यसअनुसार ट्राफिक व्यवस्थापन र पूर्वाधारको विकास हुन नसकेको उनले बताए ।

उनले सार्वजनिक यातायात र दुईपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । सडक पूर्वाधार, यातायात व्यवस्थापन र ट्राफिक प्रणाली सुधारका लागि सरकार, यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

त्यसैगरी, मालवाहक सवारी साधन काठमाडौं उपत्यकाबाट बाहिरिने तथा भित्रिने भए पनि तिनका लागि पर्याप्त पार्किङ तथा व्यवस्थित स्थानको व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापनमा थप समस्या भइरहेको सिटौलाले बताए ।
उनले सीमित स्रोतसाधनका बाबजुद ट्राफिक प्रहरीले गरिरहेको व्यवस्थापनको प्रशंसा गर्दै धन्यवादसमेत व्यक्त गरे। नेपालमा करिब ६५ लाख सवारी साधन सञ्चालनमा रहे पनि त्यसको व्यवस्थापन गर्ने यातायात मन्त्रालय नै नरहेको अवस्था विडम्बनापूर्ण भएको उनले बताए ।

सिटौलाले बढ्दो सवारी चापलाई ध्यानमा राख्दै अब सडक विस्तार मात्रै नभई वैज्ञानिक लेन व्यवस्थापन, सार्वजनिक यातायातका लागि प्राथमिकता, मालवाहक सवारीको पार्किङ तथा दीर्घकालीन यातायात पूर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै अध्यक्ष सिटौलाले सडक मर्मतसम्भार र सडक सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए। सडकमा आवश्यक स्थानमा सडक बत्तीको व्यवस्था गर्नुका साथै सवारी साधनको गति कति निर्धारण गर्ने भन्ने विषयलाई पनि वैज्ञानिक आधारमा तय गर्नुपर्ने उनको भनाइ छ । सिटौलाले सडक सुरक्षाका लागि ‘रोड सेफ्टी अडिट’ गर्न आवश्यक रहेको बताए । दुर्घटना भइसकेपछि उद्धार तथा व्यवस्थापनका लागि एम्बुलेन्सलगायत आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

ट्राफिक व्यवस्थापनका क्रममा मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउनेलाई जरिवाना गर्ने व्यवस्था आवश्यक भए पनि त्यसअघि सडक तथा यातायात पूर्वाधारको उचित व्यवस्थापन हुनुपर्ने उनले बताए । पूर्वाधारको अवस्था सुधार नगरी केवल जरिवाना बढाउँदै जानु उचित नहुने उनको भनाइ छ ।

‘सरकार अभिभावक हो, तर यातायात क्षेत्रमा बेथिति पनि धेरै छ,’ सिटौलाले भने, ‘जरिवाना मात्रै बढाउँदैमा समस्या समाधान हुँदैन ।’ उनले जरिवानालाई प्रभावकारी बनाउन पूर्वाधार सुधारसँगै व्यवहारिक र वैज्ञानिक नीति आवश्यक रहेको बताए ।

सिटौलाले ट्राफिक नियम उल्लंघनमा गरिने जरिवाना निर्धारण गर्दा आम नागरिकको आर्थिक अवस्था र रोजगारीको अवस्थालाई समेत ध्यान दिनुपर्ने बताए। नेपाली नागरिकको आम्दानीको स्तरअनुसार नहुने गरी अत्यधिक जरिवाना तोक्दा त्यसको प्रभावकारिता नहुने उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*