‘बीभी नेपाल’को नाममा उच्च प्रतिफलको प्रलोभनमा ठगी, लगानी नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौं । साइबर ब्यूरोले ‘बीभी नेपाल’ नामक अनलाइन प्लेटफर्ममा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । उच्च प्रतिफलको प्रलोभन देखाएर सामाजिक सञ्जाल तथा अनलाइनका विभिन्न माध्यममार्फत आर्थिक ठगी भइरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएपछि ब्यूरोले यस्तो आग्रह गरेको हो ।
बुधबार सूचना जारी गर्दै ब्यूरोले ‘बीभी नेपाल’ नामक अनलाइन प्लेटफर्ममार्फत आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम भइरहेको जनाएको छ । ब्यूरोका अनुसार उक्त प्लेटफर्मसँग सम्बन्धित विभिन्न माध्यमबाट लगानीका लागि आकर्षित गर्ने प्रयास भइरहेको पाइएको छ ।
ब्यूरोले यस्ता प्रलोभनमा परी कुनै पनि एप्लिकेसन, वेबसाइट वा योजनामा पैसा लगानी नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । अस्वाभाविक रूपमा उच्च प्रतिफल दिने भन्दै लगानीका लागि आग्रह गर्ने योजना तथा प्लेटफर्मप्रति विशेष सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।











