बीमा प्राधिकरण कोशी प्रदेशद्वारा विद्यार्थी तथा शिक्षकसँग बीमाबारे अन्तरक्रिया तथा छलफल

काठमाडौँ। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा आर्थिक जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यम भएकाले सबै नागरिक बीमाको दायरामा आउनुपर्ने बताए । उनले बीमाको महत्व, फाइदा तथा नेपालमा बीमाको वर्तमान अवस्थाबारे समेत आम समुदायमा सचेतना जगाउनुपर्ने धारण राखे ।
जोखिमका समयमा आर्थिक सहयोग प्राप्त गर्न बीमा आवश्यक भए पनि बीमा गर्दा नागरिक स्वयं सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले घर परिवार र समुदायमा आफनो आफनो तवरबाट जिवन तथा निजिवन विमाको विषयमा समुदायमा हुने जोखिम र विपतको समयमा हुने क्षतिबाट माथी उठ्नको लागी भएपनी बीमा गर्नुपर्ने बताए ।

उनले बीमाले जीवन तथा सम्पत्तिमा आइपर्ने जोखिमबाट आर्थिक सुरक्षा प्रदान गर्नुका साथै क्षति न्यूनीकरणमा सहयोग गर्ने बताउँदै जीवन बीमासँगै घर, कृषि तथा पशुपन्छीको समेत बीमा गर्न सकिने जानकारी दिए । बीमा गर्दा सम्बन्धित कम्पनीको योजना, नियम तथा सर्तबारे राम्रोसँग बुझेर मात्र बीमा गर्न अनुरोध गरे ।
कार्यक्रम जनता नमुना माध्यमिक विद्यालय प्रधानाध्यापक चिन्तामणी रिजालले आर्थिक जोखिम न्यूनीकरणका लागि प्रत्येक परिवारमा बीमाको आवश्यकता रहे पनि बीमाबारे पर्याप्त जानकारीको अभावमा अझै पनि कतिपय नागरिक बीमा गर्न हिच्किचाउने गरेको बताए ।
कार्यक्रम को शिलशिलामा उठेको प्रश्नको जवाफ दिदैं नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले जोखिम हुनु भन्दा अगावै आफुले कमाएको रकमबाट भविष्यको जोखिमको लागी बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र ११ मा अध्ययनरत करिब ८० जना विद्यार्थी तथा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक प्रथम मिलन पोखरेलले गरेका थिए ।










