पुँजी बजारमा सुधार, लगानीकर्तामा अझै त्रासः कारोबार खुम्चिदै, के छन् खतरा ?

काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन पनि झिनो सुधार देखिएको छ । लगातार ६ कारोबार दिनसम्म भारी गिरावट व्यहोरेपछि मंगलबार सामान्य सुधार देखिएको बजारमा बुधबार पनि सकारात्मक गति कायम भएको हो । यद्यपि, बजारमा सुधार देखिए पनि कारोबार रकम भने कमजोर हुँदै गएको छ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा चलिरहेको बजारमा लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबारमा समेत त्यसको प्रभाव देखिएको हो ।
रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीले शेयर बजारमा थप दबाब सिर्जना गरेको छ । तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएपछि लगानीकर्ताको जोखिम धारणा प्रभावित भएको हो । विशेषगरी रसुवा र आसपासका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको खबरले जलविद्युत् कम्पनीका शेयरप्रति लगानीकर्ताको चिन्ता बढाएको छ । विद्युत्गृह, बाँध, सुरुङ, पहुँचमार्ग तथा प्रसारण लाइनजस्ता संरचनामा क्षति पुगेपछि उत्पादन अवरुद्ध हुनुका साथै मर्मत तथा पुनर्निर्माण लागत बढ्ने र आयोजना निर्माण अवधि लम्बिने जोखिम देखिएको छ ।
बाढीको असर जलविद्युत् क्षेत्रमा मात्र सीमित नरही निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्डसम्म पर्न सक्ने आकलन गरिएको छ । जलविद्युत् आयोजना, सवारीसाधन, घर तथा अन्य सम्पत्तिमा भएको क्षतिका कारण आगामी दिनमा बीमा दाबीको संख्या र रकम बढ्न सक्ने भएकाले निर्जीवन बीमा कम्पनीको नाफामा दबाब पर्न सक्ने चिन्ता लगानीकर्तामा देखिएको छ । सम्भावित दाबी भुक्तानी बढ्ने अनुमानले बीमा कम्पनीका शेयरमा समेत बिक्री चाप बढाएको छ । यी क्षेत्रप्रतिको बढ्दो जोखिम धारणाले समग्र बजारमा समेत अस्थिरता कायम राखेको देखिन्छ ।
यता, सिआईबीले शेयर बजारमा सानो परिमाणमा शेयर खरिद गर्दासमेत लगानीकर्तामाथि छानबिन गर्न थालेको विषयले बजारमा थप त्रास सिर्जना गरेको छ । १–२ हजार कित्ता शेयर खरिद गर्दासमेत निगरानी र छानबिन हुने अवस्थाले लगानीकर्तालाई कारोबार गर्नुअघि थप सचेत हुन बाध्य बनाएको छ । पछिल्लो सुधारले बजारलाई केही राहत दिए पनि लगानीकर्ताको सक्रियता घट्दै गएको छ । कारोबार रकममा आएको कमीले समेत लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा रहेको संकेत गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २५३८.११ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको ७२ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड ६५ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ समूहको शेयर मूल्यमा सुधार देखिएको छ भने २ समूह राताम्य भएको छ । म्युचुअल फण्ड समूहको ०.०९ प्रतिशत र निर्जीवन बीमा समूहको ०.०७ प्रतिशतले घटेको हो ।

बुधबार १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ कम्पनीको शेयर मूल्य घटेको छ । आज १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।









