भोटेकोशी बाढीपीडितलाई बीमा कम्पनीले अग्रिम दाबी भुक्तानी दिइने, विशेष कार्यदल गठन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको बीमा दाबीमा बीमा कम्पनीहरूले प्रभावित बीमितलाई अग्रिम भुक्तानी दिने भएका छन् । जलविद्युत् आयोजना तथा ठूला पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले पुनर्निर्माणका लागि आवश्यक नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय गरिएको हो ।
बाढीबाट भएको क्षति तथा बीमा दाबी भुक्तानीका विषयमा अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी तथा सर्भेयरहरूको सहभागितामा भएको छलफलपछि यस्तो निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रका बीमितको दाबी भुक्तानी प्रक्रिया सरल, सहज र छिटो बनाउन निर्देशन दिएका थिए । उनले वास्तविक र प्रमाणित क्षतिको दाबीमा अनावश्यक कागजी प्रक्रियाका कारण भुक्तानी ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।
बीमा कम्पनीहरूले यसअघि २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानीमा पनि यकिन भएको क्षतिको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गरेका थिए ।
भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना, भौतिक पूर्वाधार, सवारी साधन, कृषि तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार भोटेकोशी क्षेत्रका करिब ९०० मेगावाट क्षमताका विभिन्न जलविद्युत् आयोजनामा करिब १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको लगानी प्रभावित भएको छ । अन्य पूर्वाधार तथा सवारी साधनमा समेत ठूलो क्षति भएको प्रारम्भिक आँकलन छ ।
ठूला जलविद्युत् आयोजना तथा पूर्वाधारको क्षतिको विस्तृत मूल्याङ्कन र दाबीको अन्तिम टुंगो लगाउन समय लाग्ने भएकाले बीमितको तत्कालीन नगद आवश्यकता पूरा गर्न अग्रिम भुक्तानी दिने व्यवस्था गर्न सम्बन्धित पक्ष सहमत भएका हुन्।
स्वचालित रूपमा सर्भेयर खटाइने
क्षति मूल्याङ्कनका क्रममा सर्भेयर परिचालनलाई थप पारदर्शी र निष्पक्ष बनाउन नेपाल बीमा प्राधिकरणले समन्वय गर्ने भएको छ । आवश्यकताअनुसार क्षतिको मूल्याङ्कनका लागि विदेशी विज्ञ सर्भेयरको सेवा समेत लिन सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, सर्भेयर परिचालनलाई चुस्त र पारदर्शी बनाउन प्राधिकरणले स्वचालित रूपमा सर्भेयर खटाउने व्यवस्था मिलाउने भएको छ ।
विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै बीमा दाबीका लागि आवश्यक कागजातसम्बन्धी विद्यमान कार्यविधिलाई समेत सरल बनाउने तयारी गरिएको छ ।
दाबी भुक्तानी अनुगमनका लागि विशेष कार्यदल
भोटेकोशी बाढीबाट भएको क्षतिको बीमा दाबी तथा भुक्तानीको दैनिक अवस्था अनुगमन गर्न नेपाल बीमा प्राधिकरणमा विशेष कार्यदल गठन गरिने भएको छ । कार्यदलले दाबी भुक्तानीको प्रगति, बीमा कम्पनीहरूको तरलता व्यवस्थापन तथा पुनर्बीमा शोधभर्नालाई तीव्र बनाउन आवश्यक समन्वय गर्नेछ ।
अर्थमन्त्री वाग्लेले विपद्को कठिन अवस्थामा बीमा कम्पनीहरूले पीडितको क्षतिमा राहत पुग्ने गरी दाबी भुक्तानीलाई सहज र सरल बनाउनुपर्ने बताएका छन् ।
‘बाढीका कारण देश शोकमा छ । यो कठिन अवस्थामा सबैजना हातेमालो गरौँ, पीडितको क्षतिमा बीमा कम्पनीहरूले मल्हम लगाऔँ, दाबी भुक्तानीलाई सहज र सरल बनाऔँ,’ छलफलमा उनले भने, ‘बीमा कम्पनीहरूलाई कुनै समस्या भयो र सरकारले केही गर्नुपर्ने अवस्था आयो भने भन्नुहोला । हामी सहयोग गर्न तयार छौँ ।’









