बालेनको सचिवालयमा गम्भीर समस्या, हर्कले दिए यस्तो चेतावनी

१८ भाद्र २०८३, बिहीबार ११:४८

काठमाडौँ । बालेन्द्र शाह ‘बालेन’को सचिवालयमा गम्भीर समस्या रहेको सांसद हर्क साम्पाङले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै  उनले बालेनको वरिपरि रहेका सल्लाहकारकै कारण सरकार असफलतातर्फ उन्मुख हुन सक्ने चेतावनी दिएका हुन् ।

साम्पाङले बालेनको सचिवालयमा रहेका २७–२८ जना सल्लाहकारले दिने सुझाव र उनीहरूको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। उनले बालेनलाई आफूले गर्ने आलोचनालाई व्यक्तिगत विरोधका रूपमा नलिई त्यसमा रहेको सकारात्मक सुझाव बुझ्न आग्रह गरेका छन्।

‘मैले गरेको आलोचना देख्ने तर त्यो आलोचना भित्रको सुझाव नदेख्ने र नबुझ्ने ? यस पालि पनि मैले के भनेको थें ? उद्धारको बारेमा ! तिम्लाई असफल बनाउन तिम्रै सल्लाहकारहरू जिम्मेवार छन्,’ साम्पाङले लेखेका छन्।

साम्पाङले आफूले बालेनलाई पुरानो साथीको नाताले साथित्वको भावनाबाटै सल्लाह र सुझाव दिँदै आएको बताएका छन्। उनले धेरै सल्लाहकारको कुरा सुन्नुभन्दा आफ्नो फेसबुक वालमा व्यक्त गरिएका सुझावलाई समेत गम्भीरतापूर्वक पढ्न बालेनलाई आग्रह गरेका छन्।

उनले काठमाडौंको फोहोर व्यवस्थापनको विगतको प्रसंगसमेत जोड्दै बालेनलाई आफ्नो मेयरकालको सुरुवाती समय सम्झन आग्रह गरेका छन्। बन्चरेडाँडामा फोहोर लैजान रोकिँदा आफूले कटाक्ष गरेको र त्यसपछि फोहोर व्यवस्थापनतर्फ ध्यान गएको उनको दाबी छ।

‘बालेन तिम्लाई मैले भनेकै हुँ, पुरानो साथी भएको नाताले ! २७–२८ जना सल्लाहकारको कुरा सुन्नु भन्दा मेरो फेसबुकको वाल पढ्नु अनि अघि बढ्नु ! काठमाडौंको बन्चरे डाँडामा फोहोर लान रोक्दा बखत पनि मैले कटाक्ष गरेको थें, त्यसपछि फोहोर व्यवस्थापनमा लागेका थियौ,’ उनले भनेका छन्।

साम्पाङले बालेनलाई आफ्नो विगतको अनुभवबाट पाठ सिक्नसमेत आग्रह गरेका छन्। मेयर बनेको केही महिनामै फोहोर व्यवस्थापनको समस्या भोग्नुपरेको प्रसंग स्मरण गराउँदै उनले अहिले पनि सही सल्लाह पहिचान गर्नुपर्ने बताएका छन्।

उनले बालेन सफल हुन आफूले दिएको सुझावलाई समेत गम्भीरतापूर्वक लिनुपर्ने दाबी गरेका छन्। बालेनप्रतिको आफ्नो समर्थन शब्दमा नभई व्यवहारमा रहेको उल्लेख गर्दै उनले वरिपरिका व्यक्तिहरूले नै बालेनलाई असफल बनाइरहेको आरोप लगाएका छन्।

‘तिमी सफल बन्नका लागि मेरो सल्लाहमा हिड्नै पर्छ ! मुखले आई लभ यु भन्दिन म, शब्दमा होइन व्यवहारमा छ मेरो माया ! तिम्लाई असफल तिम्रै वरिपरिको मान्छेहरूले बनाउँदैछन्,’ साम्पाङले लेखेका छन्।

साम्पाङले बालेनलाई ‘आँखा चिम्लेर सोच्न’ आग्रह गर्दै बाहिरी आँखाले आफूलाई नदेखे पनि मनको आँखाले हेर्नुपर्ने बताएका छन्। आफूले टाढै बसेर आलोचना गरे पनि त्यसको उद्देश्य बालेनलाई सही ठाउँ र सही भूमिकामा ल्याउनु रहेको उनको भनाइ छ।

‘मनको आँखाले हेर, तिम्रो असल मित्रले टाढै बसेर तिम्लाई गाली गरेरै भए पनि सही ठाउँ र सही भूमिकामा ल्याउन चाहेको छ,’ साम्पाङले भनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*