बजार सुधार, मनोबल भने कमजोरः पर्ख र हेरको अवस्थामा लगानीकर्ता, यो कस्तो समय हो ?

१८ भाद्र २०८३, बिहीबार १५:०६

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजार लगातार तेस्रो दिन सुधार देखिएपनि लगानीकर्ताको मनोबल कमजोर बनेको छ । बजारमा सुधारका केही संकेत देखिए पनि कारोबार रकममा उल्लेख्य उत्साह नफर्किँदा लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’ को रणनीतिमा देखिन्छन् ।

रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीले यो प्रश्नलाई झनै पेचिलो बनाएको छ। विशेषगरी जलविद्युत् आयोजनाका विद्युत्गृह, बाँध, सुरुङ, पहुँचमार्ग तथा प्रसारण लाइनमा भएको क्षतिको खबरले जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको जोखिम धारणा बढाएको छ। उत्पादन अवरुद्ध हुने, मर्मत तथा पुनर्निर्माण खर्च बढ्ने र आयोजना निर्माण अवधि लम्बिने सम्भावनाले प्रभावित कम्पनीको वित्तीय अवस्थामाथि थप दबाब पर्न सक्ने देखिन्छ ।

बाढीको असर जलविद्युतमा मात्र सीमित नरही निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्डसम्म पुग्न सक्ने आकलनले बजारको चिन्ता थप बढाएको छ। सम्पत्तिको क्षतिका कारण बीमा दाबी बढेमा निर्जीवन बीमा कम्पनीको नाफामा दबाब पर्न सक्छ । त्यसमाथि सिआईबीको निगरानी र सानो परिमाणमा शेयर खरिद गर्दासमेत छानबिन हुन सक्ने चर्चाले लगानीकर्तालाई कारोबारमा थप सतर्क बनाएको छ। परिणामतः बजारमा बिक्री चापभन्दा पनि अनिश्चितताको मनोविज्ञान हावी भएको देखिन्छ ।

तर यही अवस्थामा सबै शेयर बेचिहाल्नु वा आँखा चिम्लेर शेयर किन्नु दुवै रणनीति जोखिमपूर्ण हुन सक्छ । बाढीको प्रभाव, कम्पनीको वास्तविक वित्तीय अवस्था, आयोजनाको क्षतिको परिमाण, बीमा दाबी र बजारको समग्र दिशालाई हेरेर बलिया कम्पनीमा चरणबद्ध लगानी र कमजोर कम्पनीबाट दूरी बनाउनु अहिलेको व्यावहारिक बाटो हुन सक्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६६ अकंले बढेर २५४२.७७ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ समूहको शेयर मूल्य बढेको छ भने ४ उपसूचक ओरालो लागेको छ । आज फाइनान्स समूहको ०.३४ प्रतिशत र हाइड्रोपावर समूहको ०.२३ प्रतिशतले शेयर मूल्य घटेको हो ।

बिहिबार १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*