रसुवा प्रभावितको उद्धारमा प्रधानमन्त्रीबाट कमजोरी भयोः कुलमान घिसिङ

१८ भाद्र २०८३, बिहीबार १४:३६

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रसुवा प्रभावितको उद्धारमा प्रधानमन्त्रीबाट कमजोरी भएको बताउँदै बालेन्द्र शाहलाई सुझावहरु दिएका छन्।

वालेन्द्र शाहसँग सिंहदरबारमा भएको भेटमा घिसिङले पार्टीका पदाधिकारीसहित विपद्को अवस्थाबारे छलफल गरेका हुन् । उनले अहिले देखिएका कमजोरीलाई लिएर आलोचनामै अल्झिनुभन्दा उद्धार, राहत र पुनःस्थापनाको काम तीव्र बनाउनुपर्ने बताए ।

घिसिङले विशेषगरी विभिन्न आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने बताए । त्यसका लागि फिल्डमै पुगेर अवस्था बुझ्ने र आवश्यक परे स्वदेश तथा विदेशबाट दक्ष जनशक्ति र स्रोतसाधन ल्याएर परिचालन गर्नुपर्ने उनको धारणा थियो ।

बालेन्द्र शाहले पनि सुरुङ तथा बाढीमा फसेकाहरूको उद्धारप्रति चासो देखाउँदै आवश्यक दक्ष जनशक्ति ल्याउन सरकार तयार रहेको बताएको घिसिङले जानकारी दिएका छन् । भेटमा शव व्यवस्थापनमा भइरहेको ढिलाइबारे पनि घिसिङले शाहको ध्यानाकर्षण गराएका थिए । विपद् प्रभावित क्षेत्रमा शव व्यवस्थापन प्रभावकारी हुन नसक्दा स्थानीय तहसँगै सर्वसाधारणमा समेत असन्तुष्टि बढेको उनले बताए ।

त्यस्तै होल्डिङ सेन्टरमा राखिएका प्रभावितको स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित बनाउनुपर्ने विषय पनि उनले उठाएका छन् । बालबालिकाको पढाइ प्रभावित नहोस् भन्नेतर्फ समेत सरकारले विशेष योजना बनाउनुपर्ने उनको भनाइ थियो । बालेनले बालबालिकालाई काठमाडौं ल्याएर राख्ने तयारीबारे जानकारी दिएको घिसिङले बताए ।

घिसिङका अनुसार सडक पुगेका क्षेत्रसम्म सरकारी राहत पुगिरहेको भए पनि त्रिशूली नदीपारिका क्षेत्रमा राहत व्यवस्थापन अझै चुनौतीपूर्ण छ । विभिन्न संघसंस्था र निकायबाट राहत वितरण भइरहेकाले त्यसलाई एकीकृत र व्यवस्थित बनाउन सरकार सक्रिय हुनुपर्ने उनले बताए । उनले बेत्रावतीसम्म तत्काल सहज सडक पहुँच बनाउन र बेलिब्रिजमार्फत यातायात विस्तार गर्न पनि सुझाव दिएका छन् । यातायात सुविधा सहज भए उद्धार, राहत वितरण तथा आगामी पुनःस्थापनाको कामसमेत प्रभावकारी बनाउन सकिने घिसिङको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*