माछापालनको पकेट कार्यक्रममा भ्रष्टाचार, तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ । सिराहाको औरही गाउँपालिकामा सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा माछापालनका लागि सञ्चालित कार्यक्रममा कामै नगरी वा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल–भरपाई बनाएर रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
आयोगका अनुसार गाउँपालिका र प्रगतिशील कृषक समूहबीच १५ लाख रुपैयाँमा सम्झौता भएको थियो। सम्झौताअनुसार माछाका भुरा, दाना, चना तथा कृषि सामग्री वितरण गर्नुपर्नेमा ती सामग्री वितरण नै नगरी पूरा काम भएको देखाएर ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिइएको पाइएको छ।
यस प्रकरणमा अख्तियारले औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाएको छ। उनीहरू चारै जनासँग जनही ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
अनुसन्धानका क्रममा तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्माले आफू पदमा नरहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत भएको भनी ओहदा र अधिकारको दुरुपयोग गरेको पाइएको अख्तियारले जनाएको छ। उनले सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने तथा विवरण हेरफेर गर्ने कार्यसमेत गरेको आयोगको दाबी छ। उक्त कसुरमा शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ११ र १५ बमोजिम थप सजायको मागदाबी गरिएको छ।
त्यस्तै, प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवले सरकारी कर्मचारीहरूसँग मिलेमतो गरी गैरकानूनी लाभ लिने बदनियत राखेर भ्रष्टाचारमा मतियारको भूमिका निर्वाह गरेको अख्तियारको ठहर छ।











