बाढी–पहिरोले देशभरका दर्जनौं सडक प्रभावित, यात्राअघि हेर्नुहोस् रोडको अवस्था

२१ भाद्र २०८३, आईतवार ०९:३२

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख तथा ग्रामीण सडक प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एक लेनबाट मात्रै यातायात सञ्चालन भइरहेको छ।

सडकको अवस्थासम्बन्धी आज बिहान ८ः४० बजेसम्मको पछिल्लो विवरणअनुसार रसुवाको पासाङ ल्हामु राजमार्गको ठूलो भाग बाढीले बगाएपछि मुख्य सडक पूर्ण रूपमा अवरुद्ध छ। त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्नुका साथै भदौ १० गते आएको बाढीले सडकको अधिकांश भागमा क्षति पुर्‍याएको हो।

रसुवागढी नाकातर्फ जाने यात्रु तथा सवारीसाधनका लागि काठमाडौं–टोखा–छहरे–विदुर हुँदै धुन्चे र स्याफ्रुबेँसीसम्म पुग्ने वैकल्पिक कच्ची सडक प्रयोग गर्न सकिने जनाइएको छ। यो मार्ग एक लेनको रहेकाले यात्रामा सावधानी अपनाउनुपर्नेछ।

धादिङतर्फ पृथ्वी लोकमार्गको अवस्था पनि प्रभावित छ। बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। गजुरी–२ परेवाभीर र बेनिघाट रोराङ–१० ज्वाङखोलामा भने क्षतिपछि एक लेनबाट यातायात सञ्चालन भइरहेको छ। गजुरी–२ चालिसेमा शनिबार राति सडक माथिबाट सुक्खा पहिरो खसेपछि पृथ्वी लोकमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ।

यताकाभ्रेपलाञ्चोकतर्फ बीपी राजमार्गमा सवारी सञ्चालनका लागि समय र सवारीको प्रकारअनुसार व्यवस्था गरिएको छ। राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक तथा ढुवानीका साधन सञ्चालन गर्न दिइनेछ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म निजी तथा सार्वजनिक यात्रुवाहक सवारी सञ्चालन हुने व्यवस्था छ।

मकवानपुरका विभिन्न सडकमा पनि सवारीसाधनका लागि वैकल्पिक र समयसीमासहितको व्यवस्था गरिएको छ। ठूला मालवाहक तथा यात्रुवाहक सवारी त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीले बेलुका ६ बजेसम्म ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी भने हेटौंडाबाट फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्न सक्नेछन्। त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीलाई त्यसको सट्टा डाइभर्सन प्रयोग गर्न भनिएको छ।

नुवाकोटको टोखा–छहरे सडकमा पनि वर्षाका कारण रातिको आवागमनमा रोक लगाइएको छ। अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। गोरखासँगै जोडिएको क्षेत्रतर्फ जाने सडकहरूमा पनि बाढी तथा पहिरोको जोखिम कायम रहेको छ। यस्तै, मुगुको ताल्चा क्षेत्रमा अविरल वर्षाका कारण ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि नाग्म–मुगु–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोरस्थित सहिद राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छ। ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा क्षेत्रमा पहिरो तथा सडक भासिएपछि कान्ति लोकपथ प्रभावित भएको छ। उक्त सडकमा एक लेनबाट यातायात सञ्चालन भइरहेको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदो पहिरो खसेपछि कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*