बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा अभिकर्ता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ।
इजाजतपत्र प्राप्त बीमा मध्यस्थकर्ताले विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार गरेको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासो प्राप्त भएको जनाएको छ।
प्राधिकरणका अनुसार बीमा अभिकर्ता निर्देशन, २०८३ को दफा १९ अन्तर्गत बीमा अभिकर्ताको आचारसंहिताको अनुसूची–१ को २(ज) मा भ्रामक प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ। कुनै पनि बीमक वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताबारे गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न नपाइने प्राधिकरणले जनाएको छ।
उक्त प्रावधानविपरीतका गतिविधि भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले त्यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको छ।
कानुनविपरीत प्रचार गरे कारबाही हुने
प्राधिकरणले बीमा ऐन, २०७९ तथा आचारसंहिताविपरीत हुने कुनै पनि किसिमको भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार गर्ने वा गराउने कार्य तत्काल बन्द गर्न सम्पूर्ण इजाजतपत्रप्राप्त बीमा कम्पनी तथा सम्बन्धित मध्यस्थकर्तालाई निर्देशन दिएको छ।
भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ। नेपाल बीमा प्राधिकरण बीमा व्यवसायलाई व्यवस्थित, नियमित तथा नियमन गर्ने आधिकारिक नियामक निकाय हो।










