विन नेपाललाई गाभेर स्वरोजगार लघुवित्तले थाल्यो एकीकृत कारोबार

२१ भाद्र २०८३, आईतवार १२:३६

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेसँगै आजदेखि संयुक्त रूपमा वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ।

‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्ने क्रममा आवश्यक सबै कानुनी तथा नियामकीय प्रक्रिया पूरा गरेको जनाएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रक्रिया सम्पन्न गर्नुका साथै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक अन्तिम स्वीकृति लिएपछि प्राप्तिको प्रक्रिया टुंगिएको हो।

विन नेपाललाई प्राप्ति गरेपछि उक्त संस्थासँग सम्बन्धित सम्पूर्ण सम्पत्ति, दायित्व तथा भविष्यमा देखिन सक्ने सम्भावित दायित्वको जिम्मेवारी स्वरोजगार लघुवित्तले वहन गर्नेछ। यही आधारमा दुवै संस्थालाई समेटेर आजदेखि एकीकृत कारोबार अघि बढाइनेछ।

एकीकृत कारोबार सुरु गर्नुअघि दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा आज एक दिनका लागि बन्द रहनेछन्। त्यसपछि भने ग्राहकले स्वरोजगार लघुवित्तमार्फत नियमित बैंकिङ तथा वित्तीय सेवा लिन सक्नेछन्।

प्राप्तिपछि संस्थाको नाम भने ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ। एकीकृत संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*