आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज भदौ २२ गते चार प्रदेशमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।
आज दिउँसो देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मध्यसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यसम्मको वर्षाको सम्भावना रहको छ।
त्यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यसम्मको वर्षाको सम्भावना छ भने देशको पहाडी तराई भूभागका केही स्थानमा मध्यसम्म वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।











