कोशी प्रदेशमा बीमा क्षेत्रका आपराधिक गतिविधि रोक्न प्रहरी र प्राधिकरणबीच छलफल

काठमाडौं । कोशी प्रदेश प्रहरी प्रमुख कवित कटुवाल र नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनबीच बीमा क्षेत्रमा हुन सक्ने आपराधिक तथा अनियमित गतिविधिको रोकथाम र नियन्त्रणका विषयमा छलफल भएको छ ।
छलफलका क्रममा बीमा क्षेत्रमा देखिन सक्ने आपराधिक क्रियाकलाप, अनियमितता तथा त्यसको रोकथाम र नियन्त्रणका उपायबारे विचार–विमर्श गरिएको थियो । साथै, समसामयिक बीमा क्षेत्रसँग सम्बन्धित विषयमा समेत छलफल भएको जनाइएको छ ।
बीमा क्षेत्रमा प्रभावकारी नियमन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी र बीमा प्राधिकरणबीच समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।
अन्तरक्रियामा आवश्यक सूचना आदान–प्रदान, आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै बीमा क्षेत्रमा हुन सक्ने गैरकानुनी तथा अनियमित गतिविधि नियन्त्रणमा सहकार्य गर्ने विषयमा समेत विचार–विमर्श गरिएको थियो ।









