रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमा सहभुक्तानी र क्यापिङ हट्यो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रसुवा, नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य बीमा सेवामा लाग्दै आएको सहभुक्तानी (को-पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ ।
भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट प्रभावित यी तीन जिल्लालाई नेपाल सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा बोर्डले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य बीमा बोर्डको भदौ २२ गते बसेको बैठकले विपद् संकटग्रस्त क्षेत्र तोकिएका तीनवटै जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको अवधिसम्म सहभुक्तानी र क्यापिङ हटाउने निर्णय गरेको जनाएको छ ।
बाढीका कारण प्रभावित नागरिकलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
त्यसैगरी, स्वास्थ्य बीमा परिचयपत्र नभएका बिमितलाई पनि स्वास्थ्य सेवा लिनबाट वञ्चित हुन नदिन व्यवस्था गरिएको छ । परिचयपत्र नभएको अवस्थामा सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको IMIS-User प्रणालीमार्फत बिमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउन सकिने बोर्डले जनाएको छ ।









