रिलायबल नेपाल लाइफको कर्मचारी क्षमता अभिवृद्धि तथा टीओटी कार्यक्रम चितवनमा सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारीको व्यावसायिक क्षमता, नेतृत्व कौशल तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको इम्प्लोयी क्यापाबिलिटी इन्हान्समेन्ट एन्ड ट्रेनिङ अफ ट्रेनर्स (टीओटी) कार्यक्रम सम्पन्न गरेको छ ।
चितवनस्थित कबिलास रिसोर्टमा भदौ २१ र २२ गते सञ्चालन भएको दुईदिने कार्यक्रममा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा चितवन रिजनबाट २४ जना कर्मचारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूको व्यावसायिक क्षमता अभिवृद्धिसँगै प्रभावकारी प्रशिक्षकका रूपमा प्रस्तुत हुन आवश्यक ज्ञान, सीप र नेतृत्व क्षमतामा विशेष जोड दिइएको थियो । प्रशिक्षणका क्रममा प्रभावकारी प्रशिक्षकका गुण, प्रस्तुति कला, सहभागी व्यवस्थापन, सञ्चार कौशल, प्रशिक्षणका विभिन्न विधि तथा विषयवस्तुलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने तरिकाबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो ।
कम्पनीको मार्केटिङ डिपार्टमेन्टका हेड शैलेन्द्र श्रेष्ठ, चितवन रिजनका रिजनल हेड राजेन्द्र पौडेल तथा गण्डकी प्रोभिन्सका प्रोभिन्स हेड सरोज अधिकारीलगायतले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले प्रशिक्षणबाट सिकेका विषयलाई व्यवहारमा उतार्दै विभिन्न सेसनमा प्रस्तुति समेत दिएका थिए । उनीहरूको सक्रिय सहभागिता, अन्तरक्रिया र प्रस्तुतीकरणले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ ।
कार्यक्रमले विभिन्न प्रोभिन्स तथा रिजनबाट सहभागी कर्मचारीबीच अनुभव, ज्ञान र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने अवसरसमेत प्रदान गरेको थियो । दुई दिनसम्म चलेको कार्यक्रम उत्साहपूर्ण तथा सिकाइपूर्ण वातावरणमा सम्पन्न भएको र सहभागीहरूले प्राप्त ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कम्पनीका अनुसार कर्मचारीको क्षमता विकाससँगै संस्थाभित्र दक्ष तथा प्रभावकारी प्रशिक्षक तयार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले सहभागीहरूको आत्मविश्वास, प्रस्तुति क्षमता, नेतृत्व कौशल र प्रशिक्षण दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
‘ड्रिम टु डेस्टिनी’ भन्ने मूल नारासहित अघि बढिरहेको रिलायबल नेपाल लाइफले कर्मचारीको क्षमता विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ ।









