१० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले असोज १६ गते बोलायो साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्तावसहित २०औँ वार्षिक साधारणसभा बोलाएको हो ।
बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको ४७४औँ बैठकले वार्षिक साधारणसभा आउँदो असोज १६ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको छ । सभा बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बस्नेछ ।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने तथा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै बैंकका सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाबाट स्वीकृत गरिनेछ ।
बैंकले आ.व. २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ ।
यसैगरी विशेष प्रस्तावअन्तर्गत २०८३ असार मसान्तसम्म कायम सञ्चित मुनाफाबाट बैंकको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । बोनस शेयर वितरणपछि सोही अनुपातमा बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्तिसम्बन्धी जानकारीसमेत सभामा प्रस्तुत गरिनेछ । नियमनकारी निकायबाट बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कुनै थपघट वा संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
बैंकले साधारणसभा प्रयोजनका लागि असोज ५ गते एक दिन शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ । त्यसैले असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू साधारणसभामा सहभागी हुन, मतदान गर्न तथा आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित नगद लाभांश र बोनस शेयर प्राप्त गर्न योग्य हुनेछन् ।









