निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात ४.३५ प्रतिशत, कुन कम्पनीको जोखिमधारण क्षमता कस्तो?

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा सक्रिय कम्पनीहरूको वित्तीय सक्षमता र जोखिम वहन क्षमताको मापन गर्ने सोल्भेन्सी मार्जिन अनुपात अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवको तुलनामा गत आवसम्म आइपुग्दा कम्पनीहरूको औसत सोल्भेन्सी मार्जिन ४.१६ प्रतिशतबाट वृद्धि भई ४.३५ प्रतिशत पुगेको हो ।
वित्तीय विवरण अनुसार यसपटक पनि सानिमा जीआईसी इन्स्योरेन्स ५.८५ प्रतिशत सोल्भेन्सी मार्जिन कायम गर्दै सूचीको शीर्ष स्थानमा रहन सफल भएको छ । उक्त कम्पनीले अघिल्लो वर्षकै अनुपातलाई यस वर्ष पनि निरन्तरता दिँदै आफ्नो वित्तीय स्थायित्वलाई कायम राखेको देखिन्छ ।
यता सानिमा जीआईसीलाई पछ्याउँदै प्रभु इन्स्योरेन्स ५.४८ प्रतिशत अनुपातका साथ दोस्रो स्थानमा देखिएको छ । यसैगरी नेको इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल दुवैले समान ५.०६ प्रतिशत सोल्भेन्सी मार्जिन कायम गरेका छन् जुन समग्र बजारको औसतभन्दा निकै माथि हो। यी कम्पनीहरूले आफ्नो जोखिम व्यवस्थापन र पूँजी पर्याप्ततामा विशेष ध्यान दिएका कारण उच्च अनुपात कायम राख्न सफल भएका हुन् ।
यस वर्षको प्रतिवेदनमा सबैभन्दा उल्लेख्य सुधार गर्ने कम्पनीहरूमा शिखर इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । शिखर इन्स्योरेन्सले आफ्नो सोल्भेन्सी मार्जिनमा १.०७ प्रतिशतले वृद्धि गरी ४.७४ प्रतिशत पुर्याएको छ जुन अघिल्लो वर्ष ३.६७ प्रतिशत मात्र थियो । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि आफ्नो अनुपातमा १.०६ प्रतिशतको सुधार गर्दै ४.३८ प्रतिशत कायम गरेको छ । सुधारको अर्को लहरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) पनि देखिएको छ जसले आफ्नो अनुपात २.७५ प्रतिशतबाट बढाएर ३.३१ प्रतिशत पुर्याएको छ ।

यता युनाइटेड अजोड इन्स्योरेन्सले ४.२९ प्रतिशत र एनएलजी इन्स्योरेन्सले ४.२४ प्रतिशतको स्थिर अनुपात कायम गरेका छन् । नेशनल इन्स्योरेन्सले पनि ४ प्रतिशतको अनुपातलाई यथावत राखेको छ। यद्यपि नेपाल इन्स्योरेन्सको तथ्याङ्कमा भने सामान्य गिरावट देखिएको छ । अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको यसको सोल्भेन्सी मार्जिन यस वर्ष ४.२८ प्रतिशतमा झरेको छ । यो सामान्य गिरावट भए तापनि कम्पनी अझै सुरक्षित अवस्थामै रहेको छ ।
अन्य कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३.८५ प्रतिशत र सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी ३.६२ प्रतिशत अनुपातका साथ सञ्चालनमा रहेका छन् । ओरिएन्टल इन्स्योरेन्स भने २.७३ प्रतिशत अनुपातका साथ सूचीको अन्तिम स्थानमा देखिएको छ ।
समग्रमा धेरैजसो कम्पनीहरूको अनुपातमा स्थिरता देखिनु र केही ठूला कम्पनीहरूले आफ्नो अवस्थामा उल्लेख्य सुधार गर्नुले नेपाली बीमा बजार थप विश्वसनीय र सुरक्षित बन्दै गएको देखिएको छ । बीमा कम्पनीले आफ्ना सम्भावित दायित्वहरू पूरा गर्न पर्याप्त पूँजी तथा सम्पत्ति राखेको छ कि छैन भन्ने मापन गर्ने अनुपात नै सोल्भेन्सी मार्जिन अनुपात हो । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई सोल्भेन्सी अनुपात न्यूनतम १.५० प्रतिशत अनिवार्य गरेको छ ।









