अबौंको पूर्वाधारको बीमा नहुँदा, बाढीपछि तीन जलविद्युत आयोजनामाथि ठूलो जोखिमभार

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट नेपाल विद्युत् प्राधिकरणका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। तीमध्ये नुवाकोटमा रहेका तीन महत्वपूर्ण जलविद्युत् आयोजना भने बीमा नगरिएका आयोजनाका रूपमा देखिएका छन्।
बीमा नगरिएका आयोजनामा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना, १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजना र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना रहेका छन्।
नेपाल विद्युत प्राधिकरणसँग यस बिषयमा बुझन खोज्दा, विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले पुरानो प्लान्ट भएको कारण एकिन विवरण भने थाहा नभएको एक अधिकारीले बताएका छन् ।
देवीघाट, त्रिशूली र माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजना प्राधिकरणका पुराना आयोजना भएको र बीमा प्रिमियम महँगो पर्ने भएका कारण हो वा पूरानो प्लान्टमाबीमा नगरिएको बुझिएको छ। यी तीन हाईड्र्रोपावरको केही निश्चित मेसिनरी सामानको मात्रै बीमा गरेको हुन सक्ने प्राधिकरणका डिएमडि जेनेरेसन किरण के श्रेष्ठ बताँउछन् ।
बाढीबाट यी आयोजनाहरू प्रभावित भएसँगै प्राकृतिक विपत्तिबाट भएको क्षतिको आर्थिक भार बीमा कम्पनीमार्फत व्यवस्थापन गर्न नसकिने अवस्था बनेको छ। त्यसकारण क्षतिको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि आवश्यक ठूलो रकम नेपाल विद्युत् प्राधिकरणकै स्रोतबाट व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना विद्युत् प्रणालीबाट बाहिरिएका थिए।
त्रिशूली जलविद्युत् केन्द्र नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली बजारमा रहेको २४ मेगावाट क्षमताको पुरानो आयोजना हो। देवीघाट जलविद्युत् केन्द्रको क्षमता १४.१ मेगावाट रहेको छ भने माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट क्षमताको आयोजना हो।
जलविद्युत् आयोजनाहरूमा बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपत्तिबाट हुने जोखिम उच्च हुने भएकाले यस्ता ठूला पूर्वाधारको बीमा व्यवस्थापन महत्वपूर्ण मानिन्छ। तर, यी तीन आयोजनामा बीमा नभएकै कारण बाढीबाट भएको क्षतिको वित्तीय जोखिम प्राधिकरण आफैंले वहन गर्नुपर्ने अवस्था आएको छ।
बाढीबाट प्रभावित आयोजनाको वास्तविक क्षतिको विस्तृत मूल्याङ्कन तथा पुनर्निर्माण लागत यकिन हुन भने थप प्राविधिक अध्ययन आवश्यक हुनेछ।









