एडीबीको ‘अग्रणी साझेदार बैंक’ बन्यो नबिल

२४ भाद्र २०८३, बुधबार १४:३५

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नबिल बैंक लिमिटेडलाई ‘नेपालमा अग्रणी साझेदार बैंक’ अवार्डबाट सम्मानित गरेको छ ।

एडीबीको १२औँ वार्षिक व्यापार तथा आपूर्ति शृङ्खला वित्त कार्यक्रमअन्तर्गत आयोजित पुरस्कार समारोहमा नबिल बैंकलाई नेपालमा अग्रणी साझेदार बैंकका रूपमा सम्मान गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले उक्त सम्मान ग्रहण गरेका हुन् ।

व्यापार तथा आपूर्ति शृङ्खला वित्तको क्षेत्रमा बैंकले पुर्‍याउँदै आएको योगदान, कार्यसम्पादन र साझेदारीको कदरस्वरूप सम्मान प्रदान गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त सम्मानले एसिया तथा प्रशान्त क्षेत्रमा व्यापार तथा आपूर्ति शृङ्खला वित्तको विकासमा बैंकले पुर्‍याउँदै आएको योगदान र प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ ।

विभिन्न व्यवसायलाई वित्तीय सहयोग उपलब्ध गराउँदै व्यापार विस्तार तथा आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने बैंकको भूमिकालाई समेत सम्मानले प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।

पुरस्कार समारोह ग्लोबल ट्रेड रिभ्यु एसिया सम्मेलनसँगै आयोजना गरिएको थियो । कार्यक्रममा एसिया तथा प्रशान्त क्षेत्रका विभिन्न मुलुकका व्यापार वित्त क्षेत्रका विज्ञ, साझेदार बैंक तथा उद्योग क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*