सर्भेयरमा ‘केहीलाई भ्याइनभ्याइ, धेरैलाई कामकै अभाव’: अटोमेशन र रोटेशनको माग

काठमाडौं । नेपालमा करिब १ हजार २०० बाढी सर्भेयर रहे पनि १ हजारभन्दा कम मात्रै सक्रिय छन् । सक्रिय सर्भेयरमध्ये पनि सबैले नियमित रूपमा काम पाउन नसकेको भन्दै सर्भेयरर्स एशोसिएशनले कामको समान वितरणको माग अघि सारेको छ ।
सर्भेयरर्स एशोसिएशन र नेपाल निर्जीवन बीमक संघबीच आज भएको बैठकमा सर्भेयरको कामलाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा छलफल भएको हो ।
बैठकमा केही सीमित सर्भेयरलाई मात्रै निरन्तर कामको चाप हुने तर अन्य सर्भेयर काम नपाएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने विषय उठाइएको छ । सबै सर्भेयरले समान रूपमा काम पाउने वातावरण बनाउनुपर्ने एशोसिएशनको मुख्य माग रहेको एशोसियसनका अध्यक्ष ऋषि कोइरालाले बीमापोष्टलाई जानकारी दिएका छन् ।
यसका लागि सर्भेयर छनोट तथा काम बाँडफाँट प्रक्रियालाई अटोमेशनमा लैजानुपर्ने र रोटेशन प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ । अटोमेशन र रोटेशन प्रणाली लागू भएमा निश्चित सर्भेयरलाई मात्रै काम दिने प्रवृत्ति अन्त्य हुने र सबैलाई समान अवसर प्राप्त हुने एशोसिएशनको अपेक्षा छ , उनले भन ।
त्यस्तै, बीमा कम्पनीहरूले आफ्ना नजिकका वा नियमित सम्पर्कमा रहेका सर्भेयरलाई मात्रै काम दिने गरेको विषयसमेत बैठकमा उठाइएको छ । सर्भेयर छनोटमा पारदर्शिता कायम गरी पहुँचका आधारमा नभई प्रणालीमार्फत काम वितरण गर्नुपर्नेमा एशोसिएशनले जोड दिएको छ ।
लामो समयदेखि नबढेको सर्भेयर फी बढाउनुपर्ने माग
बैठकमा सर्भेयरले पाउने फी लामो समयदेखि वृद्धि हुन नसकेको विषयसमेत उठाइएको छ । बढ्दो महँगी, कामको प्रकृति र जिम्मेवारीलाई ध्यानमा राख्दै सर्भेयरको शुल्क पुनरावलोकन गरी समयानुकूल वृद्धि गर्नुपर्ने माग गरिएको छ।
सर्भेयरर्स एशोसिएशनले सर्भेयरको काममा समान अवसर, पारदर्शिता र प्रतिस्पर्धा कायम गर्न अटोमेशन तथा रोटेशन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।
‘केही सर्भेयरलाई मात्रै भ्याइनभ्याइ र बाँकीलाई कामकै अभाव’ हुने अवस्थाको अन्त्य गरी सबै सर्भेयरलाई समान अवसर दिनुपर्ने एशोसिएशनको माग छ।









