जीवन बीमाको नवीकरण बीमाशुल्कमा उछालः साउनमै २१ अर्ब ७१ करोड संकलन, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनामा जीवन बीमा कम्पनीहरूले २१ अर्ब ७१ करोड ३३ लाख ८१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिमा संकलित १६ अर्ब ३८ करोड ८ लाख ७३ हजार रुपैयाँको तुलनामा ३२.५५ प्रतिशतले बढी हो ।
कम्पनीहरूबाट जारी भएको बीमा पोलिसीलाई सक्रिय राख्न निश्चित अवधिमा प्रिमियम तिरेर नवीकरण गरिरहनुपर्ने हुन्छ । त्यस्तो बीमालेख नवीकरण गरेर कम्पनीहरूले ठूलो मात्रामा नवीकरण बीमाशुल्क संकलन गर्दै आएका छन् ।
साउन महिनामा सबैभन्दा धेरै नेपाल लाइफले ५ अर्ब ६३ करोड ३५ लाख ३२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ७४ करोड ३८ लाख १७ हजार रुपैयाँ, नेशनल लाइफले २ अर्ब ३८ करोड ८ लाख ६२ हजार रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ९८ करोड ८७ लाख ७१ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ अर्ब ९० करोड ६२ लाख ७३ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।
त्यसैगरी सूर्यज्योति लाइफले १ अर्ब १९ करोड ५० लाख ९५ हजार रुपैयाँ, एशियन लाइफले ९२ करोड १७ लाख १४ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७१ करोड ३३ लाख ४५ हजार रुपैयाँ, सिटिजन लाइफले ६६ करोड २५ लाख ८८ हजार रुपैयाँ र आइएमई लाइफले ६५ करोड ४४ लाख ४३ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । प्रभु महालक्ष्मी लाइफले ५७ करोड ६८ लाख ३६ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ५१ करोड ६४ लाख ९६ हजार रुपैयाँ, मेट लाइफले ४६ करोड १ लाख ४१ हजार रुपैयाँ र सन नेपाल लाइफले ३५ करोड ९४ लाख ६८ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।

यता वृद्धिदरको आधारमा हेर्दा राष्ट्रिय जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क सबैभन्दा धेरै ८५४.२० प्रतिशतले बढेको छ । आइएमई लाइफको २६.४० प्रतिशत, नेशनल लाइफको १९.६० प्रतिशत, रिलायबल नेपाल लाइफको १८.१८ प्रतिशत, सूर्यज्योति लाइफको १७.४७ प्रतिशत, सानिमा रिलायन्स लाइफको १६.३८ प्रतिशत र एशियन लाइफको १५.६५ प्रतिशतले वृद्धि भएको छ ।









