साउनमै लघु जीवन बीमा कम्पनीले संकलन गरे १० करोडभन्दा बढी बीमाशुल्क

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा नेपालमा सञ्चालनमा रहेका तीन वटा लघु जीवन बीमा कम्पनीहरूले १० करोड १८ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले ७ करोड ७३ लाख १५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यससँगै चालु आर्थिक वर्षको साउनमा लघु जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन ३१.७५ प्रतिशतले बढेको छ।
साउन महिनामा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले साउनसम्म ३ करोड ८६ लाख २५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको साउनसम्म कम्पनीले ३ करोड २६ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको बीमाशुल्क संकलन १८.३५ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, लिबर्टी माइक्रो लाइफले साउन महिनामा ४ करोड १४ लाख ६३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६८ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो। कम्पनीको बीमाशुल्क संकलन गत वर्षको तुलनामा ५४.३३ प्रतिशतले बढेको छ।
यता, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले साउनसम्म २ करोड १७ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको साउनसम्म कम्पनीले १ करोड ७८ लाख १४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। यस वर्ष कम्पनीको बीमाशुल्क संकलन २२.२५ प्रतिशतले वृद्धि भएको छ।









