कालिञ्चोक दर्शनले ८.५ प्रतिशत बोनस शेयर वितरणपछि १ः१ हकप्रद ल्याउने, असोज १६ मा साधारणसभा

२५ भाद्र २०८३, बिहीबार ०८:४०

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले ८.५ प्रतिशत बोनस शेयर वितरणसँगै १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। यसका लागि कम्पनीले आगामी असोज १६ गते १२औं वार्षिक साधारणसभा बोलाएको हो। कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १०२औं बैठकको निर्णयअनुसार साधारणसभा असोज १६ गते शुक्रबार अर्थात् २ अक्टोबर २०२६ मा मध्यपुर ठिमी, गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बिहान ११ः३० बजे बस्नेछ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अन्तिम आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा राखिनेछ। साथै सञ्चालकको नियुक्तिलाई बाँकी कार्यकालका लागि अनुमोदन गर्ने प्रस्तावसमेत रहेको छ।

विशेष प्रस्तावतर्फ कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड रुपैयाँको ८.५ प्रतिशत बराबर अर्थात् ५ करोड ३५ लाख ५० हजार रुपैयाँको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४४७४ प्रतिशतले हुने २८ लाख १८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत साधारणसभामा पेश हुनेछ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६८ करोड ३५ लाख ५० हजार रुपैयाँ पुग्नेछ। त्यसपछि साविकमा प्रस्तावित १ः१ अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने कम्पनीको योजना छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद शेयर निष्कासन तथा समायोजन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गराइनेछ।

कम्पनीले आफ्नो व्यावसायिक कार्यक्षेत्र विस्तार तथा लगानी विविधीकरण गर्ने उद्देश्यले कृषि, जलविद्युत, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा लगानी र व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि अघि सारेको छ। त्यसका लागि कम्पनीको प्रबन्धपत्रको दफा ४ मा आवश्यक उद्देश्य थप तथा परिमार्जन गर्ने प्रस्ताव साधारणसभामा पेश गरिनेछ। प्रस्तावित बोनस तथा हकप्रद शेयर जारी भएपछि बढ्ने पुँजीलाई समायोजन गर्न कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीका सम्बन्धित व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ।

त्यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन, हकप्रद शेयर निष्कासनलगायतका विषयमा कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड वा अन्य नियमनकारी निकायबाट कुनै थपघट, फेरबदल वा संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावसमेत साधारणसभामा पेश हुनेछ। कम्पनीले साधारणसभाका लागि असोज ९ गते शुक्रबार एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसअघि कायम शेयरधनीले मात्र साधारणसभामा सहभागी हुन तथा सभासम्बन्धी अधिकार प्रयोग गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*