विपद्पछिको पुनरुत्थानका लागि विकास साझेदारसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार, प्रारम्भिक पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल भएको छ।
अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा स्थानीय विकास साझेदारहरूको बैठक सम्पन्न भएको हो। बैठकमा विभिन्न देशका राजदूत, नियोग प्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा बाढीपछि भइरहेको खोज तथा उद्धार, प्रारम्भिक पुनरुत्थानको अवस्था, क्षतिको मूल्यांकन र द्रुत विपद् आवश्यकता आकलनबारे विस्तृत समीक्षा गरिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थानको अवस्थाबारे जानकारी गराएका थिए।
त्यस्तै राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले द्रुत विपद् आवश्यकता आकलनसम्बन्धी विवरण प्रस्तुत गरेका थिए। विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड एन. सिस्लेनले ‘ग्लोबल र्यापिड पोस्ट–डिज्यास्टर ड्यामेज इस्टिमेट’ (ग्रेड) प्रतिवेदनका मुख्य निष्कर्ष प्रस्तुत गरेका थिए।
खुला छलफलमा विकास साझेदारहरूले विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका लागि आवश्यक सहयोग र सहकार्यबारे धारणा राखेका थिए। बैठकमा राष्ट्रिय योजना आयोग, प्राधिकरण र विश्व बैंकबाट गरिएको द्रुत क्षति तथा नोक्सानी मूल्यांकनको विषयमा समेत समीक्षा गरिएको थियो।
समापनमा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन विकास साझेदारसँगको सहकार्य थप मजबुत बनाइने बताए। उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष गरिने योगदान तत्काल राहत तथा प्रारम्भिक पुनस्र्थापनाका लागि प्रशासनिक लागतबिना पीडितसम्म पुग्ने व्यवस्था रहेको बताए।









